विश्वकप खेल्न नपाएको इटाली युरो छनोटको नजिक

तस्बिरः एजेन्सी

इटाली युरो कप छनोटको नजिक पुगेको छ। आईतबार राति भएको खेलमा फिनल्याण्डलाई २–१ गोल अन्तरले हराउँदै इटाली युरो कपको नजिक पुगेको हो।

पछिल्लो विश्वकप फुटबलमा छनोट हुन नसकेको इटाली आउँदो वर्ष हुने युरोकप फुटबलका लागि भने सहज रुपमा स्थान बनाउन सक्ने अवस्थामा पुगेको छ ।

आइतबार राति समूह जे अन्तर्गतको खेलमा इटालीलाई अवे मैदानमा जिताउन इमोबिल र जोर्गिन्होले गोल गरे। फिनल्याण्डका लागि पुकीले एक गोल फर्काएका थिए।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ५९ औँ मिनेटमा इमोबिलले गोल गर्दै इटालीलाई सुरूवाती अग्रता दिलाए। ७२ औँ मिनेटमा फिनल्याण्डले पेनाल्टी पायो र त्यसमा पुकीले बराबरी गोल फर्काए।

७९ औँ मिनेटमा इटालीले पेनाल्टी पायो र त्यसमा जोर्गिन्होले गोल गर्दै टिमको जित निश्चित गरे।

समूह चरणका हालसम्मका सबै ६ खेल जितेको इटाली १८ अंकसहित शीर्ष स्थानमा छ। १२ अंकसहित फिनल्याण्ड दोस्रो स्थानमा छ।

इटालीले तेस्रो स्थानमा अर्मेनियासंग ९ अंकको अग्रता लिन सफल भएको छ। बाँकी चार खेलमा इटालीलाई अब मात्र चार अंक आवश्यक छ ।

 

प्रकाशित मिति: : 2019-09-09 08:40:32

प्रतिकृया दिनुहोस्