नेपालमा आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना गरिने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता सागका लागि बिच भलिबल कोर्ट निर्माण शुरु गरिएको छ।
बिच भलिबल खेल पोखरामा खेलाइने भएपछि पोखरा महानगरपालिका–६ स्थित फेवाताल किनारमा आजदेखि भलिबल कोर्ट निर्माण शुरु गरिएको हो।
खेलका लागि चार वटा मैदान आवश्यकपर्ने भएकाले तीन वटा नयाँ निर्माण गरिने र हाल विद्यमान कोर्टको स्तरोन्नति गरिने नेपाल भलिबल सङ्घका जिल्ला अध्यक्षसमेत रहेका बिच भलिबल व्यवस्थापन समितिका संयोजक भीम पराजुलीले बताए।
पराजुलीका अनुसार अनुसार चार वटा कोर्टमध्ये दुई प्रतियोगिताका लागि र बाँकी अभ्यासका लागि प्रयोग गरिनेछ। कोर्टसँगै कपडा फेर्ने कोठा, बाथरुमलगायतका संरचनासमेत निर्माण गरिने र आगामी असोज पहिलो साताभित्रमा ती संरचनाको निर्माण सम्पन्न गर्ने योजना रहेको बताइएकोछ।
कोर्ट निर्माण कार्यको अवलोकनका लागि पुग्नुभएका गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले देशको प्रतिष्ठासँग जोडिएको प्रतियोगितालाई सफल बनाउनुपर्ने बताउँदै प्रतियोगिताबाट पर्यटकीय शहर पोखराको थप प्रवद्र्धन हुने विश्वास व्यक्त गरे। रासस