चाइनिज ताइपेइमाथि नेपालको सानदार जित, अन्जनको दुई गोल

तस्बिरः एन्फा

मिडफिल्डर अन्जन विष्टको दुई गोलमा नेपालले विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा चाइनिज ताइपेइमाथि २-० को सानदार जित निकालेको हो।

अन्जनले खेलको तेस्रो मिनेटमै गोल गर्दै नेपालले खेलमा अग्रता दिलाएका थिए। अन्जनको झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो।

लामो समय चोटका कारण बाहिर रहेका अन्जन पछिल्लो खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए। यस खेलमा प्रशिक्षक योहान कालिनले अन्जनलाई सुरुवातबाट नै मौका दिएका थिए।

खेलको ६२ औं मिनेटमा रवी पासवानको पासमा सुजल श्रेष्ठले हेडरमा मिलाईदिएको पासमा अन्जनले गोल गर्दै नेपालको जीत निश्चित गरेका हुन्।

उनले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट पहिलो टचमा उत्कृष्ट नियन्त्रण लिँदै दोस्रो सट हाफ भलीमा सिधै गोल गरेका थिए।

यो सँगै सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा जितसँगै नेपालले महत्त्वपूर्ण तीन अंक हासिल गरेको छ।

विश्वकप छनोटको दोस्रो चरणमा नेपालको यो ऐतिहासिक पहिलो जित पनि हो। यस नतिजासँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा आइपुगेको छ।

समान ३-३ अंक जोडेको जोर्डन र कुवेत गोल अन्तरमा अगाडि छन्। अष्ट्रेलियाले कुनै खेल खेलेको छैन भने ताइपेइ लगातर दोस्रो हारपछि पुछारमा छ।

प्रकाशित मिति: : 2019-09-10 18:52:22

प्रतिकृया दिनुहोस्