विश्व विजेता फ्रान्सले युरोकप छनोटमा एन्डोरामाथि सहज जित निकालेको छ। समूह ‘एच’ मा रहेको फ्रान्सले मंगलबार राति घरेलु मैदानमा एन्डोरामाथि ३–० को सहज जित निकाल्दै दोस्रो स्थानमा यथावत रहेको छ।
फ्रान्सको जितमा किङ्सले कोमान, क्लेमेन्ट लेङलेट र विसाम विन यडरले गोल गरे ।
खेलको १८ औं मिनेटमा कोमानको गोलबाट फ्रान्सले खेलमा सुरूवाती अग्रता बनाएको थियो।
२८औं मिनेटमा एन्टोइन ग्रिजमन पेनाल्टीमा चुक्दा फ्रान्सले अग्रता दोब्बर बनाउने मौका खेर फाल्यो। उनको प्रहार गोलरक्षक जोसेप गोमेसले बचाएका थिए।
ग्रिज्मनले फ्रान्सको पछिल्लो खेलमा पनि पेनाल्टीमा गोल गर्न सकेका थिएनन्। शनिबार अल्बानियाविरुद्ध खेलमा उनको प्रहार क्रसबारमा लागेको थियो।
पहिलो हाफमा १-० ले अगाडि रहेको फ्रान्सले ५२ औं मिनेटमा क्लेमेन्ट लेङलेटले गोलमा अग्रता दोब्बर पार्यो। उनले ग्रिज्मनको क्रसमा हेडर गोल गरेका थिए।
इन्ज्युरी समयको पहिलो मिनेटमा यासिन विन यडले गोल गर्दै फ्रान्सलाई ३–० को जित दिलाए।
नबिल फेकिरको प्रहारलाई गोलरक्षक गोमेसले बचाउने प्रयास असफल भएपछि आएको रिबाउन्डमा उनले गोल गरेका थिए।
एक खेलमा पराजित भएको फ्रान्सको ६ खेलबाट १५ अंकसहित दोस्रो स्थानमा यथावत छ।
समान ६ खेलबाटै १५ अंक जोडेको टर्की हेड टु हेडका आधारमा शीर्षस्थानमा छ।
टर्कीले मंगलबार राति नै माल्दोभालाई ४–० ले पराजित गरेको थियो। यही समूहमा अल्वानियाले आइसल्यान्डलाई ४–२ ले पराजित गरेको छ। समान ६ खेलमा आइसल्यान्डको १२ र अल्बानियाको ९ अंक रहेको छ।