सम्झनामा नेपाली प्रशिक्षकः जब रुडीले एयरपाेर्टमै सुरुवालको इजार चुडाँए

अनुशाषन र शारीरिक क्षमतामा ध्यान दिने रुडीकाे फाइल तस्वीर।

सन् १९८२ को नोभेम्बरमा भारतको नयाँ दिल्लीमा एसियन गेम्स हुने घोषणा भएपछि नेपालले जर्मनीका प्रशिक्षक रुडी गटेनडर्फलाई झिकाउने निर्णय गर्यो।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) मा आवद्ध भएपछि नेपालको यो पहिलो आधिकारीक अन्तर्राष्ट्रिय खेल थियो।

रुडी नेपाल आउनुअघि भारतका केएम राजेन्द्र र चीनका सुइले राष्ट्रिय टोली हेरेका थिए।

जर्मनीको प्रख्यात क्लब ह्याम्बर्गका व्यवसायिक प्रशिक्षक रुडी एसियाड सुरु हुन ६ महिनाअघि नै नेपाल आएका थिए।

नेपाली डिफेन्डरलाई ‘ओभरल्याप’ सिकाउने प्रशिक्षक रहेनन्

आफ्नो आगमनसँगै उनले नेपालको परम्परागत फुटबललाई पुरै परिवर्तन गरे। उनी आउनुअघि नेपाल ५–४–१ को परम्परागत शैलीमा फुटबल खेल्थ्यो। तर, उनले त्यो शैलीलाई परिवर्तन गर्दै ४–४–२ मा लगे। उनले मिडफिल्डको भूमिकालाई सशक्त पारे। डिफेन्सलाई ओभरल्यापमा जान प्रेरित गरे। यसका लागि उनी युवा र जोसिलो खेलाडी टोलीमा चाहन्थे। उनकै कारण धीरेन्द्र प्रधान, निकै प्रभावकारी सावित भए।

नेपाललाई सन् १९८२ र ८६ को एसियाडमा प्रशिक्षण दिन आएका रुडीको यही शनिबार ९३ वर्षको उमेरमा निधन भएको छ। उनको प्रशिक्षणको तारिफ गर्दै नेपाली राष्ट्रिय टोलीका पूर्व डिफेन्डर प्रधान भन्छन्, ‘उहाँ नभएको भए म यो अवस्थामा आइपुग्दिन्थे। उहाँले नै मलाई ओभरल्यापमा जान सिकाउनु भएको हो।’

नेपालले उनको प्रशिक्षणमा एसियाडकै तयारीस्वरुप पाकिस्तानको चर्चित काइदे आजम कप प्रतियोगिता खेलेको थियो। प्रतियोगितामा पाकिस्तानको जुनियर र सिनियर गरेर दुई टोली, चीनको नम्बर १ क्लब साङडोङ, इरान र ओमान समावेश थियो।

चीनको साङडोङ निकै सशक्त टोली थियो। त्यसैले सबैले अपेक्षा गरेका थिए, नेपालले थुप्रै गोल खान्छ भनेर। तर, रुडीको रणनीतिक चातुर्यताका कारण नेपाल १–० ले विजयी भयो। नेपालका लागि गणेश थापाले अन्तिम मिनेटमा गोल गरेका थिए।

पशुपतिनाथमा राष्ट्रिय गीत बजाउन लगाएर पर्यटन विकास हुँदैन

यही खेलका कारण चीनले लगत्तै नेपाली फुटबल टोलीलाई सद्भाव भ्रमणका लागि निम्तो दिएको थियो। चीनमा नेपालले चिनियाँ ओलम्पिक टिमसँग खेलेको थियो। त्यो खेलमा भने नेपाल ४–० ले पराजित भयो।

एसियाड खेल्न जानुअघि पनि नेपालले काठमाडौंमै आयोजना भएको एन्फा कपमा थाइल्यान्ड, भुटान र कुन्मिङ आर्मी टिमस“ग अभ्यास खेल खेलेको थियो। लगत्तै थाइल्यान्डमा सुरु भएको किङ्स कपमा भाग लिएको थियो।

नेपाली टोली एसियाडमा भाग लिन सन् १९८२ नोभेम्बर १९ तारिखमा भारतको राजधानी नया“ दिल्ली पुगिसकेको थियो।

गुड्ला त न्युयोर्कको 'यल्लो क्याव'को ढाडमा नेपाल ?

एसियाडमा भाग लिन जाँदा त्रिभुवन विमानस्थलमा एउटा रोचक घटना भएको थियो। राष्ट्रिय टोलीका जर्मनी प्रशिक्षक रुडी पहिलोपल्ट दौरासुरुवाल लगाएर एयरपोर्ट पुगेका थिए। विमान कुर्ने क्रममा उनलाई पिसाबले च्यापेछ। पिसाब फेर्न शौचालय जाँदा उनले सुरुवालको इजार नै खोल्न जानेनन्। यसपछि उनले इजारै चुँडाई दिएछन्।

तरपछि इजार लगाउने बेला उनलाई आपत परेछ। नेपाली खेलाडीहरूले अर्को इजारको व्यवस्था गरेपछि मात्र उनी शौचालयबाट बाहिर निस्किएका थिए।

‘आज पनि त्यो घटना सम्झदा हाँसो लाग्छ,’ घटना संलग्न नेपाली राष्ट्रिय टोलीका अर्का मिडफिल्डर वाइवी घले भन्छन्।

उनी रुडीलाई अनुशाषन मनपर्ने र खेलाडीलाई उत्प्रेरित गरिरहने प्रशिक्षकको रुपमा सम्झन् चाहन्छन्।

रुडीकै कारण नेपाली खेलाडीले खेल्ने नयाँ शैली पाएका थिए। अलबिदा प्रशिक्षक!

प्रकाशित मिति: : 2019-09-16 09:48:54

प्रतिकृया दिनुहोस्