नर्वेका युवा स्ट्राइकर इर्लिङ हल्यान्ड च्याम्पियन्स लिगको डेब्युमा ह्याट्रिक गर्ने तेस्रो युवा खेलाडी बन्न पुगेका छन्।
मंगलबार राती जेन्कविरूद्ध डेब्यु गर्ने क्रममा हल्यान्डले ह्याट्रिक गोल गरेपछि अस्ट्रियन क्लब साल्जबर्ग ६–२ ले विजयी भयो।
हल्यान्ड बेलायतको लिड्स र म्यानचेस्टर सिटीका पूर्व मिडफिल्डर आल्फ–इङ्गेका छोरा हुन्। उनको जन्म लिड्समा भएको थियो।
च्याम्पियन्स लिगमा यसअघि स्पेनका राहुलले सन् १९९५ मा च्याम्पियन्स लिगमा डेब्यु गर्दै १८ वर्ष १ सय १३ दिनमा ह्याट्रिक गोल गरेका थिए। यस्तै, इंग्ल्यान्डका वायने रोनीले सन् २००४ मा १८ वर्ष ३ सय ४० दिनमा ह्याट्रिक गरे। हल्यान्डले १९ वर्ष ५८ दिनमा ह्याट्रिक पुरा गरेका हुन्।
च्याम्पियन्स लिगको डेब्युमै ह्याट्रिक गोल गर्न सफल भएपछि हल्यान्डले ‘जीवनको यादगार क्षण’ भनेका छन्।