क्यारेबियन प्रिमियर लिगमा गुयना विरूद्धको खेलमा सन्दीप लामिछानेले ३ ओभरमा २१ रन खर्चिएर एक विकेट लिएका छन्। सन्दिपले सोमबार बिहान भइरहेको खेलमा पहिलो ओभरमा कसिलो बलिङ गर्न सफल भए । उनले टोलीका लागि चौथो ओभर लिएर आएका थिए। जसमा एक छक्कासहित ८ रन खर्चिए।
पहिलो बल डट फालेको सन्दीपले दोस्रो बलमा एक रन दिएका थिए। त्यसपछि तेस्रो बलमा हेमराजले छक्का प्रहार गर्दा त्यसपछिका लगातार दुई बल डट फाले। अन्तिम बलमा उनले एक रन खर्चिए।
ब्यक्तिगत दोस्रो तथा टिमका लागि आठौं ओभरमा उनले मात्र ४ रन दिएर विकेट लिए। सन्दीपले पहिलो बलमा नै विकेट लिन सफल भए। उनले यो खेलमा पहिलो ओभरमा नै छक्का खाएका हेमराजलाई पेभेलियनको बाटो देखाए। उनले हेमराजलाई २० रनमा आउट गरे।
त्यसपछि दोस्रो र तेस्रो बलमा एक एक रन दिएका सन्दीपले चौथो बल डट फाले। ओभरको पाँचौ बलमा उनले एक रन खर्चिन पुगे। त्यसपछि अन्तिम बलमा पनि एक रन दिएका उनले आफ्नो दोस्रो ओभरमा किफायती बलिङ गर्दे मात्र चार रन दिएर विकेट लिए।
त्यसपछि ब्यक्तिगत तेस्रो तथा टिमको १० औं ओभरमा सन्दीप केही महंगो बने। उनले सो ओभरमा दुई चौका खान पुगे। सो ओभरमा सन्दीपले नौ रन दिए। ओभरको पहिलो बल डट फालेका सन्दिपले दोस्रो बलमा एक रन दिएका थिए। त्यसपछिका लगातार दुई बल डट फालेका उनले अन्तिम दुई बलमा चौका खान पुगेका थिए।
टस हारेर पहिले ब्याटिङ गरेको बार्बाडोसले निर्धारित २० ओभरको खेलमा १९.२ ओभरमा अलआउट हुँदै १३८ रनमा समेटिएको थियो।
बार्बाडोसका लागि जेपी डुमिनीले सर्वाधिक ३८ रन बनाउँदा एलेक्स हल्सले २४ रन जोडे। बाँकी खेलाडीले राम्रो रन बनाउन सकेनन्। सन्दीप लामिछाने पहिलो बलमै आउट भएका थिए।
अहिले खेल वर्षाले रोकिएको छ। खेल रोकिनुअघि गुएनाले १० ओभरमा २ विकेट गुमाउँदै ७७ रन बनाएर खेलिरहेको छ। लगभग जित नजिक रहेको गुएनाले प्रतियोगितामा अपराजित रहन मात्र ६० बलमा ६२ रनको आवश्यकता छ। अहिले क्रिजमा ब्राण्डन किङ्स र सोएब मल्लिक छन्। किङ्स ४९ रन बनाएर खेलिरहेका छन् भने मल्लिक २ रनमा अभिजित छन्।