तस्बिरः एजेन्सी

मेसीको जन्म सन् २४ जुन, १९८७ मा रोसारियो, अर्जेन्टिनामा जर्ज मेसी (एक कारखाना मजदुर) र सीलिया (उर्फ कुक्कीटिनी एक अंशकालिक क्लीनर) दम्पतिको घरमा भएको थियो।

उनको पुर्खाको उद्गम इटालीको सहर एङ्कोनाबाट भयो, जहाँबाट सन् १८८३ मा उनको पूर्वज, एञ्जलो मेसी अर्जेन्टिनामा प्रवेश गरेका थिए। उनको रडरिगो तथा मेशियस नाम गरेका दुई दाजुहरूका साथै मारिया सोल नाम गरेकी एक बहिनी पनि छन्।

फुटबल क्षेत्रमा उनको दुई काकाका छोराहरू म्याक्सी र इमान्युअल बियानकुची पनि छन्। म्याक्सी पाराग्वेको क्लब ओलम्पियाका विङ्गर छन् भने इमान्युअल बियानकुची स्पेनको गिरोना एफसीमा मध्यपंक्ति छन्।

मेसी रोगी थिए, तर उनको रोगविरुद्ध लड्न अविभावकसँग पैसा थिएन। मध्यमवर्गीय परिवारका लागि मेसीको उपचार असम्भव थियो। आमा–बाबु गरिब थिए। छोराको उपचारमा अर्काको सहयोगको आश गर्नुको विकल्प उनीहरुसँग थिएन। त्यतिखेर मेसीको हालत देखेर उनकी हजुरआमा निकै रून्थिन्।

उपचार अभावमा मेसीको मृत्युसम्म हुन सक्ने चिन्ताले परिवार ग्रसित थियो। त्यतिबेला शारीरिक विकास रोकिन्थ्यो भने मेसीलाई आज फुटबलका जादूगरको रुपमा देख्न सायद मुश्किल हुन्थ्यो।

मेसी पाँच वर्षको उमेरदेखि आफ्ना बुवा जर्ज मेसीले प्रशिक्षण गरिरहेको एक स्थानीय क्लब ग्रैन्डोलीको लागि फुटबल खेल्न सुरू गरे।

सन् १९९५ मा मेसी आफ्नो गृहनगर रोसारियोस्थित न्युवेल ओल्ड ब्वाइज क्लबको लागि खेल्न शुरू गरे।

११ वर्षको उमेरमा उनको प्रारम्भिक परीक्षणमा शारीरिक विकास हार्मोनको कमी पाइयो। प्राथमिक डिभिजन क्लब रिभर प्लेटले मेसीको उपचारप्रति चासो देखायो तर क्लबसँग उनको उपचारको लागि पर्याप्त स्रोत थिएन।

उनको उपचारमा प्रतिमहिना ९०० अमेरिकी डलर लाग्थ्यो। लेइडा, क्याटालोनियामा रहेका मेसीका एक जना आफन्तले बार्सिलोनाका खेल प्रबन्धक कार्ल्स रिक्सैकलाई मेसीको प्रतिभाको बारेमा बताए। मेसी र उनको बुवाको लागि परीक्षण दिने व्यवस्थासमेत उनैले मिलाए।

उनको खेल परीक्षण गरेपछि बार्सिलोनाले उनलाई यदि उनी स्पेन स्थान्तरित हुन तयार छन् भने उनको उपचार खर्च ब्यहोर्ने शर्तमा अनुबन्धन गर्‍यो। त्यस पछि मेसी सपरिवार युरोप स्थान्तरित भए र बार्सिलोना क्लबको युवा टिमबाट खेल्न शुरू गरे। यतिबेला मेसी मात्र १३ वर्षका थिए।

१८ वर्षको उमेरमा २००५ मा उनले पहिलो अन्तर्राष्ट्रिय म्याच खेल्ने मौका पाए। विश्व फुटबल बजारमा नाम फैलाउने यो नै पहिलो अवसर थियो। तर, उनको त्यो खेल जम्मा ४७ सेकेण्डको रह्यो। किनभने, खेल्दाखेल्दै उनले रेड कार्ड पाएका थिए।

हरेक गोल गर्दा मेसी हावामा दुई हात उठाउँछन्। यसो गर्नुको रहस्य एक अन्तर्वार्तामा उनले खुलाएका छन्, ‘मैले मेरी हजुरआमालाई खुसी देखाउन यसो गर्छु, मलाई विश्वास छ हजुरआमा अहिले पनि स्वर्गबाट मेरो खेल हेरिरहेकी छिन्।’

भिडियो गेम प्रो इभोल्यूशन सकर २००९ र प्रो इभोल्यूशन सकर २०११ को मुख पृष्ठमा उनको तस्बीर अङ्कित छ र उनी यस खेलको प्रचार अभियानमा पनि समावेश छन्।

मेसी, प्रो इभोल्यूशन सकर २०१० मा फर्नान्डो टोरेससँगे देखिएका छन् र यसको मोशन कयाप्चरिङ र ट्रेलरमा पनि शामिल थिए। मेसीको प्रायोजन जर्मन स्पोर्ट्सवेयर कम्पनी एडिडासले गरेको छ र उनी यसकोको टेलिभिजन विज्ञापनहरूमा पनि उनी देखिन्छन्।

नोभेम्बर १६, २००३, मा लियोनल मेसीले बार्सिलोनाबाट एफसी पोर्टोविरुद्ध मैत्रीपूर्ण खेलमा डेब्यू गरेका थिए। उनले बार्सिलोनाबाट ६८९ खेलबाट ६०३ गोल गरिसकेका छन्।

मेसीले बार्सिलोनाबाट क्लब फुटबलका सबै उपाधि जितिसकेका छन्। ९ पटक ला लिगा विजेता, ६ पटक कोपा डेल रे, ८ पटक सुपर कोपा, चार पटक च्याम्पियन्स लिग, ३ पटक सुपर कप साथै ३ पटक क्लब विश्वकप। ६ पटकका बालोन डि’ओर विजेता। पाँच पटक युरोपियन गोल्डेन बुट विजेता बनिसकेका छन्।

उनले अर्जेन्टिनाबाट खेलेका १५९ अन्तर्राष्ट्रिय खेलबाट ८४ गोल गरिसकेका छन्। अर्जेन्टिनाका कप्तानसमेत रहेका मेसीले आफ्नो नेतृत्वमा मुलुकलाई ठूलो उपलब्धि भने दिलाउन सकेका छैनन्।

प्रकाशित मिति: : 2019-09-24 19:30:42

प्रतिकृया दिनुहोस्