क्यारेबियन प्रिमियर लिगमा राम्रो प्रदर्शन गरिरहेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने पुरा सिजन खेल्न नपाउँदै फर्कने भएका छन्।
बार्बेडोस ट्राइडेन्टबाट खेलिरहेका उनले यो सिजन कुल ६ खेल खेल्दा ८ विकेट लिएका थिए।
पहिलो खेलमा खुट्टामा मेडिकल क्रिमको नकारात्मक असरको कारण १ ओभर मात्र बलिङ गरेका उनले त्यसलगत्तैको खेलमा आफ्नै पूर्व टिम सेन्ट किट्स बिरुद्ध २२ रन खर्चेर ३ विकेट लिँदै पहिलो पटक सीपीएलमा प्लेयर अफ द म्याच चुनिएका थिए।
त्यसपछि जमैका, सेन्ट लुसिया र गुएना बिरुद्ध उनले समान १/१ विकेट लिँदै किफायती बलिङ समेत गरे।
मंगलबार उनले जमैकाविरूद्ध १७ रन खर्चेर २ विकेट लिएका थिए।
नेपाली रास्ट्रिय टिमले सेप्टेम्बर २७ देखि सिंगापुरमा खेल्ने त्रिकोणात्मक सिरिज र त्यसपछि ओमानमा ५ देश सहभागी टी-२० सिरिजका लागि सन्दिपले सिपिएल टी-२० बिचैमा छोड्नु परेको हो।
गत सिजन सीपीएलमा पनि सेन्ट किट्सको लागि सन्दिपले पुरा सिजन खेल्न पाएका थिएनन्। एसिया कप छनोट प्रतियोगिता रहेको कारण उनले ५ खेल मात्र खेलेका थिए जुन क्रममा कुल ७ विकेट लिएका थिए।
गत सिजन अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, र ग्लोबल टी-२० क्यानडामा पनि सन्दिपले नेपाली टिमको खेल परेकाले पुरा सिजन खेल्न पाएका थिएनन्।
सन्दीप सेप्टेम्बर २६ (भोलि) बिहान सिंगापुर पुग्ने सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। नेपाली टिम बिहिबार बिहान सिंगापुर पुग्ने कार्यक्रम रहेको छ।
क्यारेबियन प्रिमियर लिग अक्टोबर १२ सम्म सञ्चालन हुनेछ। बार्बेडोस फाइनल पुगेको खण्डमा पनि ओमान सिरिजको अन्तिम खेल अक्टोबर १० मा रहेकाले सन्दीप फर्किने सम्भावना रहेको छ।
लिग अंकतालिकामा चौथो स्थानमा रहेको बार्बेडोसले ६ खेल खेल्दा मात्र २ जित हात पारेको छ।
सिंगापुरमा नेपालले टेष्ट राष्ट्र जिम्बाबे र सिंगापुरसँग त्रिकोणात्मक सिरिज खेल्नेछ।
युएईमा हुने टी-२० विश्वकप छनोट प्रतियोगिताको तयारीको लागि सिंगापुरले सिरिजको आयोजना गरेको हो।
त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले सेप्टेम्बर २७ मा जिम्बाबे र २८ मा सिंगापुरसँग खेल्नेछ। त्यसपछि अक्टोबर १ मा जिम्बाबे र अक्टोबर २ मा सिंगापुरसँग खेल्ने तालिका छ।
नेपालले टेस्ट राष्ट्रसमेत सहभागी सिरिजमा खेल्न लागेको यो नै पहिलो पटक हो।
त्रिकोणात्मक सिरिज खेलेपछि नेपाल सिंगापुरबाटै ओमान प्रस्थान गर्नेछ। जहाँ नेपालले आयोजक ओमानसहित, हङकङ, नेदरल्याण्ड, आयरल्याण्डसहित कुल ५ टिम सहभागी हुने टी-२० सिरिज खेल्नेछ।
सिंगापुर र ओमान सिरिजको लागि नेपालले बायाँ हाते ब्याट्सम्यान इशान पाण्डे र कुशल मल्ललाई पहिलो पटक टिममा मौका दिएको छ। यस्तै टिममा देब्रे हाते स्पिनर सुशन भारिले पनि कम्ब्याक गरेका छन्। यो पटक शरद भेसावकर र बसन्त रेग्मीलाई टिममा समावेश गरिएको छैन। ज्ञानेन्द्र मल्लले व्यक्तिगत कारण देखाउदै प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए जसको स्थानमा दिपेन्द्र ऐरीले टिमको उपकप्तनी गर्नेछन्।
ओमान र सिंगापुर सिरिजको लागि १५ सदस्यीय नेपाली टोलि : १. पारस खड्का ( कप्तान ) , २. दिपेन्द्र एरि ( उपकप्तान ) , ३. सोमपाल कामि, ४. करन केसी , ५. बिनोद भण्डारी, ६. ललित राजबंशी, ७. पवन सर्राफ, ८. सन्दिप जोरा, ९. सन्दिप लामिछाने, १०. अविनाश बोहरा, ११. कुशल मल्ल , १२. रोहित पौडेल , १३. आरिफ शेख, १४. सुशन भारि , १५. इशान पाण्डे
सिंगापुर सिरिजमा नेपालको खेल तालिका :
असोज १० : नेपाल Vs जिम्बावे
असोज ११ : नेपाल Vs सिंगापुर
असोज १४ : गते नेपाल Vs जिम्बावे
असोज १५ : गते नेपाल Vs सिंगापुर
ओमान सिरिजमा नेपालको खेल तालिका:
असोज १९ : नेपाल Vs हङकङ
असोज २० : नेपाल Vs नेदरल्यान्ड्स
असोज २२ : नेपाल Vs आयरल्यान्ड
असोज २३ : नेपाल Vs ओमान