आईसीसी र फेसबुकबीच ठूलो सम्झौता, फेसबुक अब आईसीसीको डिजिटल पार्टनर

Agency

सामाजिक सञ्जाल फेसबुकले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) सँग ठूलो सम्झौता गरेको छ। आगामी चार वर्षको लागि अब फेसबुक आईसीसीको डिजिटल कन्टेन्ट राइट पार्टनर भएको छ।

सम्झौता अनुसार अबको ४ वर्ष फेसबुकमा आईसीसीको प्रतियोगिताको हाइलाइटहरू, खेलसँग सम्बन्धित भिडियोलगायत बिभिन्न भिडियो सामग्रीहरु हेर्न पाइनेछ।

आईसीसी र फेसबुकले गरेको सम्झौता पछि अब २०२३ सम्म क्रिकेट फ्यानहरुले फेसबुकको एपमै क्रिकेटको मजा लिन पाउनेछन्।

२०१९ क्रिकेट विश्वकप विश्वमै धेरै हेरिएको प्रतियोगिता मध्ये रहेको थियो। आईसीसीको डिजिटल मध्यमहरुबाट ४.६ बिलियन पटक प्रतियोगिता सम्बन्धित भिडियोहरु हेरिएको थियो।

‘हामी फेसबुकलाई ग्लोबल क्रिकेट परिवारमा स्वागत गर्न पाउँदा हर्षित छौँ। यस्तो खालको साझेदारी हाम्रो खेलकुदको लागि पहिलो हो। विश्वकै धेरै हेरिने खेल मध्येको क्रिकेट सबैभन्दा ठूलो प्लेटफर्ममा आउनु क्रिकेटको भविष्यको लागि उत्साहजनक छ,’ आईसीसीका सीईओ मनु सहनेले भने।

आगामी ४ वर्षको अवधिमा आईसीसी टी-२० विश्वकप २०२०, टी-२० विश्वकप २०२१, एकदिवसीय विश्वकप २०२३, टेस्ट च्याम्पियनसिप फाइनल २०२१ र २०२३, महिला टी-२० र एकदिवसीय विश्वकप, टि-२० विश्वकप छनोट, एकदिवसीय विश्वकप छनोट, यु-१९ विश्वकप जस्ता प्रतियोगिता छन्।

प्रकाशित मिति: : 2019-09-27 07:06:54

प्रतिकृया दिनुहोस्