‘गल्ली क्रिकेट’ बाट उठेर विश्व चर्चित बनेका विराट कोहली

Agency

कानमा वाकम्यान, जिउमा स्लिपलेस भेस्ट। टिनएज ठिटाझैँ ‘ड्रेसिङ रुम’ मा सधैँ जिस्कने बानी। सन् २००८ अगस्टमा श्रीलंकाविरूद्ध एकदिवसीयमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गर्ने बेला विराट कोहलीको विषयमा धेरैको बुझाइ थियो– केटोले क्रिकेटमा कम, फेसनमा बढी प्रगति गर्ला।

त्यतिमात्र होइन, उनको खेल्ने तरिका र एकाग्रतालाई लिएर सुरुवाती दिनमा धेरैले अड्कलबाजी भएकाे थियाे– विराटको क्रिकेट भविस्य त्यति लामो टिक्दैन्।

तर, सन् २०१२ बंगलादेशमा सम्पन्न एसिया कपमा विराटले जुन स्तरको ब्याटिङ प्रदर्शन गरे, त्यसले उनको खेलजीवनको भविष्यवाणी गर्ने आलोचकको मुख मात्र बन्द भएन्, उनी रातारात स्टार बन्न पुगे।

जो आफूजस्तै पीडित महिलालाई उद्यमी बनाउने सोच राख्छिन् (भिडियोसहित)

एसिया कपअघि अस्ट्रेलियामा सम्पन्न कमनवेल्थ बैक त्रिकोणात्मक शृंखलामा विराटले ५३ दशमलव २८ को औसतले १ सतकसहित ३ सय ७३ रन बनाएका थिए। उनी त्यो शृंखलामा भारतबाट सर्वाधिक रन बनाउने ब्याट्सम्यान मात्र बनेनन्, श्रीलंकाविरूद्ध उनले ८६ बलमा अविजित १ सय ३३ रन बनाएपछि अस्ट्रेलियाका पूर्व क्रिकेटर तथा कमेन्टेटर डिन जोन्सले भनेका थिए– ‘एकदिवसीयको सर्वोत्कृष्ट इनिङमध्येको एक।’

श्रीलंकाले जीतका लागि दिएको ३ सय २१ रनको लक्ष्य पछयाउने क्रममा भारतले ८६ रन बनाउँदा २ विकेट गुमाइसकेको थियो। यस्तो अवस्थामा ब्याटिङ गर्न उत्रिएका कोहलीले लासिथ मलिङ्गाको एउटै ओभरमा २४ रन हिर्काउदै १३ ओभरको खेल बाँकी रहेकाे अवस्थामा भारतलाई जीत दिलाए।

यो प्रदर्शनपछि उनलाई बंगलादेशमा सम्पन्न एसिया कपमा उपकप्तान नियुक्त गरिएको थियो। यहाँ झन् उनले १ सय १९ को औसतले ३ सय ५७ रन बनाउदै आलोचकको मुख थुने।

पछिल्लो समय भारतीय क्रिकेटमा एउटा बहसले जन्म लिने गरेको छ, सचिन तेन्दुलकरले ९० को दशकमा भारतीय क्रिकेटका महान हस्ती सुनिल गावस्करको विरासत थामेका थिए। सचिनको सन्न्यासपछि उनको विरासतलाई कसले थाम्ने होला?

एसिया कपमा पाकिस्तानविरूद्ध १ सय ४८ बलमा अविस्मरणीय १ सय ८३ रन बनाएपछि विराटको भाग्य चम्किएको थियो। उनको त्यो प्रदर्शन देखेपछि भारतीय खेल विश्लेषकले मात्र होइन, विदेशीले पनि भन्न थालेका थिए– सचिनको विरासतलाई अब कसैले अगाडि बढाउँछ भने, त्यो ब्याट्सम्यान विराट कोहली नै हुन्।

कोहलीलाई बेञ्चमा बसेको ठ्याम्मै मन पर्दैन्। तर, सचिन तेन्दुलकर र बीरेन्द्र सेहवागजस्ता हस्ती ब्याट्सम्यानको उपस्थितिमा उनी करिब दुई वर्ष भारतीय क्रिकेट टिमको बेञ्चमा खुम्चिए। उनी हालका नयाँ पुस्ताझैँ मैदानमा चाँडै प्रतिक्रिया जनाउँछन्।

रोकिएको जीन्दगीलाई चल्न सिकाउनेहरू (भिडियो)

सन् २०११ मा टेस्टमा ‘डेब्यु’ गर्ने क्रममा सिड्नी क्रिकेट मैदानमा एक भारतीय समर्थकले विराटलाई ‘राम्रो खेल्न नआउने’ भन्दै अपमान गर्न खोजेका थिए। भारतीय समर्थकको प्रतिक्रियाबाट क्रृद्ध विराटले क्षेत्ररक्षण गर्ने क्रममा मैदानबाटै ‘बीचको औला’ ती समर्थकलाई देखाए। जसका कारण जरिवाना स्वरुप उनको ‘म्याच फि’ बाट ५० प्रतिशत रकम कट्टा गर्नु परेको थियो।

खासमा विराट महेन्द्रसिंह धोनीका ठूला प्रशंसक हुन्। एकपल्ट उनले पत्रकारले अन्तर्वार्ता दिन गरेको आग्रहप्रति व्यंग्य गर्दै भनेका थिए, ‘किन म मिडियासँग कुरा गरौं, जवकि मेरो कप्तान नै मिडियासँग गफ गर्न मान्दैनन्।’

भारतीय राजधानी नयाँ दिल्लीस्थित उत्तमनगरका आजकै दिन ३१ वर्षअघि जन्मेका विराट २००८ मा भारतले युथ–१९ विश्वकप जित्दा टोली कप्तान थिए। उनले युथ विश्वकपको ६ खेलमा ४७ को औसतले १ सतकसहित बनाएको २ सय ३५ रनको उत्कृष्ट खेलका कारण सिनियर टोलीमा अटाउने मौका पाएका थिए।

यही वर्ष श्रीलंकामा सम्पन्न आइडिया कपमा भारतका दुई दिग्गज ब्याट्सम्यान सचिन र बीरेन्द्र चोटका कारण प्रतियोगितामा अनुपस्थित रहे। यसको फाइदा विराटलाई भयो। उनले १९ वर्षको उमेरमा आफ्नो ‘डेब्यु’ खेलमै त्यति बेला भारतका विश्वसनीय ब्याट्सम्यान दिल्लीका गौतम गम्भिरसँग प्रारम्भिक ब्याट्सम्यानका रूपमा खेल्ने मौका पाए। त्यति बेला उनी १२ रनमै श्रीलंकाका नुवान कुलसेकराको बलमा एलबिडब्लुको सिकार बन्न पुगेका थिए।

विराटको खेलजीवनको ‘टर्निङ प्वाइन्ट’ २००६ लाई मानिन्छ। त्यति बेला उनका वकिल पिता प्रेम कोहलीको बिहान २ बजे ‘ब्रेन स्ट्रोक’ का कारण मृत्यु भएको थियो।

जति बेला उनी आफ्ना पितालाई दागबत्ति दिँदै थिए, बिहान भारतको चर्चित घरेलु प्रतियोगिता ‘रणजी ट्रफी’ मा उनको ‘डेब्यु’ थियो।

उनलाई बिहानसम्म दोमन थियो– पिताजीको अस्तु बगाएपछि घर फर्कने कि, रणजी खेल्न जाने। तर, उनका क्रिकेट गुरु राजकुमार वर्माले अस्ट्रेलियाबाट फोन गरेर रणजी ट्रफीजस्तो महत्वपूर्ण प्रतियोगिता नगुमाउन सल्लाह दिएका थिए। नभन्दै, विराट त्यो खेल खेल्न मात्र गएनन्, उनले कर्नाटकाविरूद्ध ‘डेब्यु’ खेलमा अविस्मरणीय ९० रन बनाए।

सानैमा विराट दिल्लीको गल्ली क्रिकेटमा यति चर्चित भइसकेका थिए, उनको क्रिकेटप्रतिको लगाव देखेपछि छिमेकीले नै उनका पितालाई राम्रो एकेडेमीमा भर्ना गर्ने सल्लाह दिएका थिए।

राजकुमार वर्माको पश्चिम दिल्लीस्थित क्रिकेट प्रशिक्षण केन्द्रमा प्रेमले आफ्नो छोरा भर्ना गर्दा विराटको उमेर थियो, ९ वर्ष। देब्रे पाखुरामा ‘गोल्डेन ड्राइगन’ को ठूलो टाटु बनाएका विराट बेलायती स्पोर्ट्स कार ‘अस्टिन मार्टिन’ का क्रेजी हुन्। उनी इड हार्डीको लुगा लगाउन मन पराउँछन्। उनलाई भारतीय टोलीमा बोलाइने प्रिय नाम हो, चिक्कु।

भारतको २०११ विश्वकप टोलीका सदस्य रहेका विराट हाल टेस्ट टोलीका कप्तान हुन्। उनी टेस्ट खेल्न थालेको ३ वर्षमै कप्तान नियुक्त भएका थिए, जब धोनीले अस्ट्रेलिया भ्रमणको क्रममा अप्रत्यासित रूपमा टेस्ट टोलीको कप्तान मात्र होइन, टेस्ट क्रिकेटबाटै सन्न्यास लिए।

सन् २०१६ मा उनले वेष्ट इन्डिजविरूद्ध उसैको घरेलु मैदानमा र भारत भ्रमणमा रहेको किवी टोलीविरूद्ध भारतमा दोहोरो सतक बनाउदै नयाँ कीर्तिमान जडेका थिए। उनी कप्तानको भूमिकामा लगातार चार वटा शृंखलामा दोहोरो सतक बनाउने विश्वको पहिलो कप्तान हुन्।

विराटले ८२ टेस्टमा २६ सतकको सहयोगले ५४ दशमलव ७७ को औसतले ७ हजार ६६ रन बनाइसकेका छन्। यस्तै, २ सय ३९ एकदिवसीयमा ४३ सतकको मद्धतले ६० दशमलव ३१ को औसतमा ११ हजार ५ सय २० रन पुरा गरिसकेका छन्।

उनी एकदिवसीय क्रिकेटमा छिटो सतक बनाउने भारतीय ब्याट्सम्यान हुन्। उनले ५२ बलमा सतक बनाएका थिए। उनी एकदिवसीयमा ७ हजार रन पुरा गर्ने विश्वकै सर्वाधिक छिटो ब्याट्सम्यान हुन्। उनी अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २५ एकदिवसीय सतक बनाउने ब्याट्सम्यान पनि हुन्। उनी टि–२० मा पनि सर्वाधिक छिटो हजार रन बनाउने पहिलो अन्तर्राष्ट्रिय क्रिकेटर हुन्।

सन् २०१० देखि २०१४ सम्म एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने भारतीय क्रिकेटर पनि विराट नै थिए। उनले २०११ मा अन्य देशका क्रिकेटरभन्दा सर्वाधिक रन पनि बनाएका थिए। उनले २०१२ मा टेस्ट क्रिकेटमा पनि भारतका लागि सर्वाधिक रन बनाएका थिए। भारतीय कप्तानको भूमिकामा टेस्ट क्रिकेटको अघिल्लो तीन इनिङमा लगातार तीनवटै सतक हिर्काउने मात्र होइन, विदेश भूमिमा दोहोरो सतक बनाउने कीर्तिमान पनि उनकै नाममा छ।

उनलाई एकदिवसीय क्रिकेटमा लक्ष्य पछयाउने सबैभन्दा प्रभावशाली ब्याट्सम्यानका रूपमा हेरिन्छ। उनको ब्याटिङ गर्ने कलाबाट प्रभावित वेष्ट इन्डिजका पूर्व स्टार ब्याट्सम्यान विव रिचर्डसले एकपल्ट भनेका थिए– विराटको ब्याटिङमा म आफ्नो अवशेष पाउछु।

यसैले हुनुपर्छ, विज्ञापन कम्पनी पनि ‘बलिउड हिरोइन’ झै विराटलाई अनुबन्ध गर्न कम्मर कसेर पछाडि लाग्ने गरेका छन्। अहिले विराट विज्ञापनबाट मात्र वर्षमा १ सय ४६ करोड भारु तथा तलबबापत २७ करोड कमाउँछन्। इएसपीएनले उनलाई विश्वको प्रभावशाली खेलाडीको सूचिमा राखेको छ। टाइम्स म्यागजिनले पनि गत वर्ष उनलाई विश्वको सयजना प्रभावशाली व्यक्तिको सूचिमा समावेश गरेको थियो।

बलिउड हिरोइन अनुष्का शर्मासँगको प्रेम–विवाहका कारण विराट बेलाबेलामा विवादमा आइरहन्छन्। अन्य केही भारतीय ब्याट्सम्यान जस्तै विराट पनि अन्धविश्वासी छन्। त्यसैले उनी खेल्न उत्रिँदा आफ्नो हातमा कालो ‘रिस्ट–ब्यान्ड’ बाध्ने गर्छन्। उनी आफूले राम्रो स्कोर गर्दा पहिरिएको ग्लोब्स नै लगाएर ब्याटिङ गर्न उत्रिने गर्छन्। यसबाहेक २०१२ देखि उनी आफ्नो दायाँ हातको पाखुरामा शिख धर्मालम्बीहरूको परम्परागत ‘कारा’ बाधेर मैदानमा उत्रिने गर्छन्।

फुटबलका सौखिन विराटले २०१४ मा इन्डियन सुपर लिग क्लब एफसी गोवा किनेका थिए। उनी यसका सहमालिक हुन्। यसबाहेक २०१५ मा अन्तर्राष्ट्रिय प्रिमियर टेनिस लिगको फ्रेन्चाई युएई रोयल्स र प्रो रेस्लिङ लिगको क्लब बेङगलुरु योद्धाका पनि मालिक हुन्। अहिलेको अवस्थामा सोसल मिडियामा सबैभन्दा बढि खोजिने क्रिकेट खेलाडी पनि उनी नै हुन्।

प्रकाशित मिति: : 2019-11-05 08:54:46

प्रतिकृया दिनुहोस्