१३ औं साग: उद्घाटन खेलमा नेपाली भलिबल टिमले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत भलिबलका खेल आज (बुधबार) सुरु हुदैछ।

औपचारिक उद्घाटन अगाडीनै महिला र पुरुष भलिबल आज सुरु हुन लागेको हो। त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बुधबार पुरुष र महिला दुवै तर्फको समूह चरणका खेलहरु सुरु हुनेछ।

समूह चरण अन्तर्गत नेपालको दुवै टिमले पहिलो खेलमा बंगलादेशसँग खेल्दैछ। उद्घाटन खेलमा महिला भलिबल टिमले बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ । सागमा स्वर्ण जित्ने लक्ष्य राखेको महिला टिमले दिउँसो ३ बजे बंगलादेशसंग खेल्न लागेको हो।

सागको महिला भलिबलमा नेपाल सूमह ए मा रहेको छ। नेपाल रहेको समूहमा भारत र बंगलादेश छन्। भारत स्वर्णको दाबेदार हो। बंगलादेश तुलनात्मक रुपमा नेपालभन्दा कमजोर टिम हो।

यस्तै पुरुष भलिबल टिमले साँझ ७ बजे बंगलादेशसँग नै प्रतिस्पर्धा गर्नेछ। पुरुष भलिबल टिम समेत बंगलादेश र भारत रहेको समूहमा छ। भारत पुरुष भलिबलको समेत बलियो टिम हो। सागको पूर्वअभ्यासमा नेपाली टिम भारतको राष्ट्रिय टिमसँग सबै मैत्रीपूर्ण खेलमा पराजित भएको थियो।

राष्ट्रिय खेलकुद परिषदले भलिबल हेर्नका लागि टिकट मूल्य राखेको छ। भलिबलको टिकट मूल्य ५ सय राखिएको छ। टिकट इसेवाबाट किन्न सकिनेछ।

यस्तै भलिबल खेल एक्सन स्पोर्ट्स टेलिभिजन र एनटिभि प्लसले पनि प्रत्यक्ष प्रशारण देखाउने छ।

प्रकाशित मिति: : 2019-11-27 12:59:48

प्रतिकृया दिनुहोस्