१३ औं साग: नेपाललाई हालसम्म ६ स्वर्ण,एक रजत र एक काँस्य

बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सोमबार भएको खेलमा नेपालले छ स्वर्ण,एक रजत र एक काँस्य हात पारेको छ।

नेपालले पोखरा र ललितपुरमा भएको खेलमा छ स्वर्ण जीतेको हो। नेपालले ट्रायथोलनमा महिलातर्फ, टिम काता महिला तर्फ, तेक्वान्दोको पुम्सेमा २ व्यक्तिगत तर्फ २३ देखि २९ वर्षे उमेरमा र व्यक्तिगत कराँते काता तर्फ स्वर्ण पदक हात पारेको हो।

नेपाललाई कराँतेमा मन्डेकाजी श्रेष्ठले पहिलो स्वर्ण दिलाएका थिए। सातदोबाटोस्थित नवनिर्मित कराँते हलमा भएको फाइनलमा मन्डेले पाकिस्तानका नियामतुल्लाहलाई हराउँदै स्वर्ण जित्न सफल भएका हुन् । मन्डेले २५.७२ अंक जोड्दा पाकिस्तानका प्रतिस्पर्धिले २४.९२ अंक मात्र जोडे।

यस्तै कराँतेकै पुरुष टिम कातामा नेपालका मण्डेकाजी श्रेष्ठ, महशुस तामाङ, प्रविन मानन्धरको टिमले स्वर्ण जिते। योसँगै मण्डेकाजीले दुई स्वर्ण जितेको छ। नेपाली टिमले फाइनलमा २५‍‍.५४ अंक प्राप्त गर्यो। यस्तै रजत जितेको श्रीलंकाले २५.२८ अंक प्राप्त गर्यो।

यता,महिला टिम कराँते कातामा नेपालले पाकिस्तानलाई पछि पार्दै स्वर्ण जितेको छ। कातामा महिला टिम कातामा निर्मला तामाङ, संगिता मगर र सरु कार्कीले स्वर्ण जिताएकी हुन्।

काताको फाइनलमा नेपालले २४.८८ अंक तथा पाकिस्तानले २३.३ अंक जोड्न सफल भयो।

तेक्वान्दोको पुम्सेमा व्यक्तिगत तर्फ २३ देखि २९ वर्षे उमेरमा कमल श्रेष्ठले एक स्वर्ण थप गरे। उनी साग गेम्सको पुम्सेमा स्वर्ण जित्ने पहिलो नेपाली तेक्वान्दो खेलाडीसमेत बन्न सफल भएका छन्।

यता तेक्वान्दोकै महिला तर्फको पुम्सेमा सिना लिम्बु मादेनले अर्को स्वर्णपदक दिलाइन्। उनी साग गेम्सको पुम्सेमा स्वर्ण जित्ने दोस्रो नेपाली खेलाडी हुन्। उनले २३ वर्ष मुनीको खेलमा स्वर्ण जितेकी हुन्।

यस्तै,पोखरा लेकसाइडमा भएको प्रतियोगितामा ट्राइयाथलनमा नेपाललाई सोनी गुरुङले स्वर्ण दिलाएकी छन्। आजै भएको ट्रयाथोलन, पुरुषमा भने भारतले स्वर्ण र रजत पदक जितेको छ। नेपालले काश्य पदकमा चित्त बुझाएको छ।

प्रकाशित मिति: : 2019-12-02 13:26:06

प्रतिकृया दिनुहोस्