तनहुँको व्यास नगरपालिका–५ अलैँचेका सन्तबहादुर थापाले साँगेखोलामा माछा मार्न थालेको ३४ वर्ष पुग्यो। घरबाट माछा मार्न जाल बोकेर हिँडेको दिनमा उहाँ खाली हात फर्किनुपरेन। दिनमा १० किलोसम्म माछा मारेर बिक्री गर्नुभएका उनलाई आजभोलि दिनमा एक÷दुई किलो माछा मार्न पनि मुस्किल छ।
साँगेखोलामा माछा मार्न जाल हानिरहेका बेला भेटिनुभएका थापाले आजभोलि खोलामा माछा पाउनै गाह्रो भएको गुनासो गरे। थापाले भने, “करेन्ट लगाउने, विष हाल्ने प्रवृत्ति बढेपछि आजभोलि माछा लोप हुँदै गएको छ। माछा पाउनै छाडियो।” थापाका अनुसार जाल हानेर भन्दा करेन्ट र विष हाल्दा बढी र छिटो माछा पाइने भएकाले युवाले यसको प्रयोग गर्न थालेका छन्।
जाल बोकेर दिनभरि हिँड्दा आफूले १० किलोसम्म माछा मारेको अनुभव सुनाउँदै थापाले अहिले मुस्किलले दुई किलोसम्म माछा मार्ने गरेको बताए। कुनै समय माछाका लागि प्रसिद्ध रहेको यस खोलामा अहिले विषादी प्रयोगले माछामा कमी आएकाले विष र करेन्ट प्रयोगलाई नियन्त्रण गर्नुपर्ने थापाले माग गरे।
व्यास नगरपालिका–५ पतेनीका जितबहादुर दरैले दुई वर्षदेखि साँगेखोलामा माछा मार्दै आएका छन्। घर निर्माणको काम गर्ने दरैले फुर्सदको समयमा खोलामा माछा मार्ने गरेको बताए। “पहिला–पहिला खुट्टामा माछा ठोक्किन्थ्यो, तर अहिले माछा पाउन गाह्रो छ,” दरैले भने। दरैले बढीमा छ÷सात किलोसम्म माछा मार्ने गरेको बताउँदै अचेल दुई किलो मार्न धौधौ पर्ने जानकारी दिए।
उनका अनुसार साँगेखोलामा माछा निकै कम रहेको छ। विष र करेन्ट प्रयोगले माछा लोप हुँदै गएको हुन सक्ने दरैले बताए। “पहिला–पहिला प्रशस्त माछा पाइने साँगेखोलामा माछा लोप हुँदैछ, विष र करेन्ट हान्ने कार्यलाई सम्बन्धित निकायले रोक लगाउनुपर्छ”, उनले भने। बल्छीको प्रयोगले आफूले माछा मार्ने गरेको उनले सुनाए।
साँगखोलाको माछा किलोको रु एक हजार २०० सम्म बिक्री हुने गरेको छ। माछाका लागि बजारको कुनै समस्या नरहेको र माछा बेचेर घरखर्च चलाउन सहयोग पुगेको दरैले बताए।
करेन्ट प्रयोग र विष प्रयोगले खोलामा रहेका माछासँगै अन्य जलप्राणी पनि लोप हुने भएकाले सम्बन्धित निकायले यसलाई रोक लगाउनुपर्ने आवाज उठ्न थालेको छ।