उठ्यो अनन्तलिंगेश्वर मन्दिर

तस्बिरः बिएल

भक्तपुर–वैशाख १२ को भुकम्पबाट ढलेको सूर्यविनायक नगरपालिका–४ स्थित अनन्तलिंगेश्वर मन्दिरको पुननिर्माण पुरा भएको छ । पुनःनिर्मित मन्दिरको सोमबार उपप्रधानमन्त्री इश्वर पोखरेल र प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
अनन्तलिंगेश्वर विकास तथा संरक्षण समितिको आयोजनामा भएको कार्यक्रममा उनीहरूले दुई तले प्यागोडा शैलीको मन्दिर उद्घाटन गरेका हुन् । मन्दिरभित्र शिवको लिच्छविकालीन शिला छ ।


समितिका सचिव रामप्रसाद न्यौपानको अनुसार पुरातत्व विभाग र अन्य सहयोगीहरूको सहयोगमा करिब २ करोड ७ लाख रुपैयाँमा मन्दिर पुननिर्माण गरिएको हो । मन्दिर हातामै शिवभक्त इन्जिनियर कुमार उप्रेतीले निजि लगानीमा गणेश मन्दिर बनाइदिएका छन् ।
भुकम्प अघि अनन्तलिंगेश्वर मन्दिर शिखर शैलीमा थियो । ‘९० सालको भुकम्प अघि हाम्रो मन्दिर प्यागोडा शैलीमा रहेछ । भुकम्प पछि शिखर शैलीमा बनाइएको रहेछ’, समितिका अध्यक्ष शालिग्राम न्यौपाने भन्छन्, ‘त्यही भएर हामीले पुरानै शैलीमा मन्दिर पुननिर्माण गरेका हौं ।’
मन्दिर उद्घाटन गर्नु अघि प्रमुख अतिथि पोखरेलले अनन्तलिंगेश्वर बेस क्याम्पमा अबस्थित अनन्त झुला र झोलुङे पुल पनि उद्घाटन गरेका थिए ।

 

प्रकाशित मिति: : 2019-09-09 13:10:33

प्रतिकृया दिनुहोस्