अर्घाखाँची बस दुर्घटना : ज्यान गुमाउनेको संख्या १८ पुग्यो

बिएल

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा परि ज्यान गुमाउनको संख्या १८ पुगेको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्।

सन्धिखर्कबाट बुटवलका लागि दिउँसो साढे १ बजे छुटेकोे लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा १७ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेले बताए।

ज्यान गुमाउनेका ११ जना पुरुष र ७ जना महिला रहेको सहायक प्रमुख जिल्ला अधिकारी बेल्बासेले बताए।

दुर्घटनामा १३ जना घाइते भएका छन्। घाइतेमध्ये ११ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटवल र २ जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएको छ। दुर्घटनामा ज्यान गुमाउने र घाइते भएकाहरुको परिचय खुलेको छैन।

प्रकाशित मिति: : 2019-11-27 20:21:19

प्रतिकृया दिनुहोस्