कर्णाली सरकारले १६स्थानमा होमस्टे सञ्चालन गर्ने

तस्बिरः बिएल

कर्णालीका १६ स्थानमा होमस्टे घरवास सञ्चालनमा आउने भएका छन्। 

कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले प्रदेशका विभिन्न १६ स्थानमा होमस्टे सञ्चालन गर्ने भएको हो।
कर्णाली प्रदेशका पर्यटकीयस्थललाई लक्षित गर्दै होमस्टे सञ्चालनको काम भइरहेको मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले जानकारी दिए।
होटलको सहज पहुँच नभएकाले होमस्टे सञ्चालन गर्न लागेको उनको भनाई छ।
होमस्टे सञ्चालनअन्तर्गत कालिकोटको पचाल झरना होमस्टे तथा उद्यान निर्माण, कालिकोटको खाडाचक्र नगरपालिकाको पिली क्षेत्रमा होमस्टे सञ्चालनका लागि तयारी भइरहेको छ।
यस्तै जुम्लाको तातोपानीमा ऐरेनी तातोपानी होमस्टे, बड्डी होमस्टे, मालिका बत्ती होमस्टे सञ्चालनमा आउने भएका छन्। यस्तै डोल्पामा त्रिपुरासुन्दरी बगर होमस्टे, दैलेखको दुल्लु नगरपालिकाको लाफा होमस्टे, मुगुमा झ्यारी, लामाचौर र ताल्चा होमस्टे सञ्चालनमा आउन लागेका छन् ।
मन्त्रालयका अनुसार रुकुमको स्र्यापु, हुम्लाको सिमीकोट, सल्यानको कुपिण्डे र सुर्खेतको वीरेन्द्रनगरमा पातालगङ्गा होमस्टे सञ्चालनमा आउने भएका हुन्।
ती होमस्टे सञ्चालनको तयारीमा भईरहेको सूचना अधिकारी रोकायले बताए।
उनका अनुसार होमस्टेमा कोशेली घर तथा सामुदायिक घर निर्माण भइरहेका छन्।
कतिपय स्थानमा निर्माणको चरणमै छन्। यस आर्थिक वर्षमा पनि होमस्टे सञ्चालनका लागि बजेट छुट्याइको उहाँले जानकारी दिए।
एउटा होमस्टे निर्माणको लागि रु २५ देखि ५० लाख सम्म बजेट छुट्याएको उनले बताए।
त्यसैगरी मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ मा पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास निर्माण कार्यक्रमअन्तर्गत विभिन्न जिल्लामा रहेका पर्यटकीय क्षेत्रको विकास निर्माणको काम अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
रासस

प्रकाशित मिति: : 2019-08-24 11:11:36

प्रतिकृया दिनुहोस्