सिएनएनको उत्कृष्ट सूचिमा रहेको घान्द्रुकमा के छ ?

तस्बिरः बिएल

अमेरिकी सञ्चार संस्था सिएनएनले एशियाका १३ उत्कृष्ट चित्ताकर्षक गन्तव्यको सूचीमा नेपालको घान्द्रुकलाई पनि समेटेको छ । यो संगै घान्द्रुकको चर्चा चुलिँदै छ ।

काठमाडौं–अन्नपूर्ण क्षेत्रमा पर्ने कास्कीको गुरुङ वस्ती हो घान्द्रुक । यो पहाडी गाउँ हिमाली सौन्दर्य, आत्मीय व्यवहार र गुरुङ सस्कृतिका लागि संसारमै प्रख्यात छ । गाउँबाट अन्नपूर्ण साउथ, हिउँचुली र माछापुच्छ्रे हिमाल नजिकै देखिन्छ ।

वर्षैभरि शितल हुन्छ घान्द्रुक (२,०२० मिटर)मा । ढुँगैढुँगाले बनेका घरहरू, गुरुङ जीवनशैली र आत्मीय गाउँलेका कारण घान्द्रुक संसारभर प्रख्यात छ । शहरी कोलाहल भन्दा टाढा, शान्त गाउँमा तन र मन रिचार्ज हुन्छ ।

घोडेपानी, अन्नपूर्ण सर्किट, हिडन लेक र अन्नपूर्ण सेन्चुरी दमार्गमा यात्रा गर्ने पर्यटकहरू एक रात घान्द्रुकमा सुस्ताउँछन् । पछिल्ला केही वर्ष यता घान्द्रुकमा आन्तरिक पर्यटक बढ्दै गएका छन् ।

पर्यटन व्यवसायी समिति, घान्द्रुकका अध्यक्ष किसम गुरुङका अनुसार वर्षमा करिब ५० हजार नेपाली घान्द्रुक घुम्छन् । उनीहरू एक रात बसेर फर्कन्छन् । विदेशीको संख्या भने त्यो भन्दा कम छ ।

घान्द्रुकमा साना ठूला.५० होटल छन् । नेपालीलाई मेनुमा डिस्काउन्ट दिने गरिएको गुरुङ बताउँछन् । प्रति व्यक्ति १५ सय रुपैयाँले डिनर, बेड, ब्रेकफास्ट र लन्चलाई पुग्छ ।

पोखराबाट उत्तरमा पर्छ घान्द्रुक । नयाँपुलबाट हिँडेर जाँदा घान्द्रुक पुग्न करिब ६ घन्टा लाग्छ । तर, गाउँसम्मै मोटर बाटो छ । पोखरा–घान्द्रुकसम्म ६० किमि । पोखरा–बागलुङ राजमार्गको नयाँपुल सम्म ३९ किमि पक्कि सडक छ । नयाँपुल–घान्द्रुक २१ किमि । बर्खामा पोखराको पुरानो टुँडिखेलबाट घान्द्रुकको किम्चेसम्म मात्र बस चल्छ । किम्चेबाट १ घन्टा हिँडेमा घान्द्रुकको मुख्य बस्ती पुगिन्छ ।

नेपालीलाई छुट

घान्द्रुकमा बर्सेनी ठूलो संख्यामा नेपाली आउँछन् । सामान्यतः उनीहरू एक रात बसेर फर्कन्छन् । तर, कम्तिमा दुई रात बसेर सेरोफेरो घुमेमा धेरै अनुभव गर्न पाइन्छ । हामीले नेपालीलाई मेनुमा डिस्काउन्ट दिन्छौं । आन्तरिक पर्यटक आउँदा हामी खुसी हुन्छौं ।

किसम गुरुङ- अध्यक्ष, पर्यटन व्यवसायी समिति

सम्पर्क: ९८५६०-२५२२२

प्रकाशित मिति: : 2019-09-02 11:42:14

प्रतिकृया दिनुहोस्