बोर्डको डेढ अर्ब बढी बजेट : भ्रमण वर्षलाई प्राथमिकता

तस्बिरः बिएल

नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७६/०७७ का लागि रु एक अर्ब ६३ करोड बजेट विनियोजन गरेको छ । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई प्राथमिकतामा राखेर बोर्डले बजेट ल्याएको छ । बोर्ड सञ्चालक समितिको सोमबारको बैठकले यस वर्षका लागि बजेट विनियोजन गर्ने निर्णय गरेको हो। अघिल्लो वर्षको भन्दा १२ करोड कम बजेट आएको छ । बोर्डले आर्थिक वर्ष २०७५/०७६ मा रु एक अर्ब ७५ करोड बजेट छुट्याएको थियो ।

भ्रमण वर्षसँगै तालीम, ‘डिजिटल मार्केटिङ’ तथा नयाँ गन्तव्यको प्रभावकारी प्रवद्र्धन गर्ने लक्ष्यसहित बजेट विनियोजन गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले राससलाई जानकारी दिनुभयो । बोर्डले प्रदेश सरकारसँगको साझेदारीलाई ध्यान दिएर बजेट निर्धारण गरेको छ । एक प्रदेशमा रु एक करोडका दरले सातै प्रदेशमा बजेट विनियोजन गरिएको सिइओ जोशीको भनाइ छ । उनका अनुसार बजेटमा पर्यटनको बजारीकरण, नयाँ अन्तर्राष्ट्रिय गन्तव्यको विस्तारमा मध्यपूर्वी मुलुकमा विगतको एक कार्यक्रमलाई बढाएर चार वटा पुर्‍यायाइएको छ ।

दक्षिणपूर्वी एशियाली मुलुक म्यान्मा, भियतनाम, कम्बोडियालगायत गन्तव्यमा बजारीकरण गर्ने लक्षका साथ बजेट विनियोजन गरिएको छ । बोर्डका जति पनि प्रवद्र्धनका कार्यक्रम रहेका छन् तिनलाई भ्रमण वर्षसँग जोडेर कार्यक्रम गरिनेछ। भ्रमण वर्षका लागि छुट्टै १० करोड विनियोजन गरिएको छ। यो भ्रमण वर्ष सचिवालयले खर्च गर्नेछ । बोर्डकै तर्फबाट भ्रमण वर्ष प्रवद्र्धनका लागि २५ करोड विनियोजन गरिएको छ।

भैरहवा विमानस्थल लक्षित प्रवद्र्धन

बोर्डले बुद्ध धर्मावालम्बी पर्यटकलाई नेपाल आकर्षण गर्ने उद्देश्यका साथ म्यान्मा, भियतनाम, कम्बोडियालगायत गन्तव्यमा प्रभावकारी बाजरीकरण गर्ने भएको छ । छिट्टै सञ्चालनमा आउने निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर बोर्डले बुद्ध धर्मावलम्बीहरूको मुलुकबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्नेगरी बजेट विनियोजन गरेको हो।

ती मुलुकसँग भैरहवा विमानस्थल सञ्चालनसँगै सम्पर्क सञ्जाल विस्तार हुने अपेक्षाका साथ बोर्डले बजेट केन्द्रित गरेको उल्लेख गरेको छ । गौतमबुद्ध विमानस्थल सन् २०२० को शुरुआतमै सञ्चालनमा आउने बताइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले एक वर्षे कार्ययोजनामा समेटेका भ्रमण वर्षलगायत कार्यक्रमलाई बजेटमा समावेश गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यममा नेपाल प्रवद्र्धन

बोर्डले नेपाल गन्तव्य प्रवद्र्धनको कामलाई सशक्त र प्रभावकारी तुल्याउन अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसी, सीएनएनलगायत ठूला मिडियामा नेपालको गन्तव्य प्रवद्र्धन गर्ने विज्ञापन बजाउने कार्यक्रमलाई प्राथमिकता दिएको छ।

विश्व चर्चित लोन्ली प्लानेट र ट्रीप एडभाइजरसँगको सहमतिलाई पनि निरन्तरता दिइने बोर्डले जनाएको छ । छिमेकी मुलुक भारत र चीनका विभिन्न सञ्चारमाध्यममा पनि नेपालको विज्ञापन गरिनेछ ।

विभिन्न शहरमा चल्ने बसहरुमा नेपालको पोस्टर टाँसी प्रवद्र्धन गर्ने कार्यक्रमलाई समेत बजेटले निरन्तरता दिएको छ । विदेशस्थित दूतावासहरुसँगको सहकार्यलाई समेत जारी राख्ने उल्लेख गरिएको छ ।

काठमाडौँ बाहिर मिनी मार्ट

पर्यटन बोर्डले काठमाडौँ बाहिरका विभिन्न गन्तव्यमा मिनी मार्ट आयोजना गर्ने भएको छ । काठमाडौँमा हिमालयन ट्राभल मार्ट र लुम्बिनी ट्राभल मार्ट जारी राख्दै मोफसलका पर्यटकीय गन्तव्यसम्म मार्ट विस्तार गर्नेगरी बजेट बनाइएको छ ।

बोर्डका सिइओ जोशीले पोखरा एडभेन्चर टुरिजम मार्ट, पूर्वमा इस्ट ट्राभल मार्ट र पश्चिममा वेस्ट ट्राभल मार्ट आयोजना गर्ने योजना बनाइएको जानकारी दिए।

लोकप्रिय गन्तव्यमा विदेशी पर्यटन व्यवसायी, विदेशी सञ्चारकर्मी तथा ब्लगर बोलाएर मार्ट सञ्चालन गर्ने र त्यसमार्फत पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

बोर्डले भ्रमण वर्षको अवधिमा पर्यटनसँग सम्बन्धित केही ठूला ‘इभेन्ट’ नेपालमा आयोजना गर्ने जनाएको छ । ‘वल्र्ड ट्रेल नेटवर्क’ सन् २०२० मा नेपालमा आयोजना हुने भएको छ । यो संसारभरका ट्रेकिङ–ट्रेल व्यवसायीको वार्षिक ‘कन्क्लेभ’ हो । त्यस्तै, ‘वल्र्ड इको टूरिजम कन्क्लेभ’, पनि नेपालमा आयोजना गरिनेछ । ‘माइस टुरिज्म’ र ‘सिनेमा टुरिज्म’ लाई विशेष प्राथमिकता दिइनुका साथै फोटो र भिडियोलाई बढीभन्दा बढी प्रवद्र्धन गर्ने योजना बनाइएको छ ।

काठमाडौँ मिथिला फेस्टिभल आयोजना गरिने तथा देशभरका धामी झाँक्रीलाई काठमाडौँमा जम्मा गरे प्रदर्शनी गर्नेजस्ता कार्यक्रम पनि बजेटमा समेटिएको छ । इलाम, नारायणी नदीतटजस्ता क्षेत्रको सम्भाव्यता अध्ययन गरी सम्भावित पूर्वाधार निर्माणको अध्ययन गरिनेछ । यस वर्ष ‘टुरिज्म स्याटेलाइट सिटी’ को पनि अध्ययन गरिनेछ । यसमा प्रदेश सरकार र योजना आयोगलाई लगानीका लागि प्रेरित गरिने उल्लेख छ । रासस

प्रकाशित मिति: : 2019-09-10 19:15:36

प्रतिकृया दिनुहोस्