पर्यटक भुलाउन झरनाको सौन्दर्यकरण

बीएल

पर्यटकलाई आकर्षित गर्नका लागि महभिर झरनामा सौन्दर्यकरण गरिएको छ।

समुदाय, स्थानीय तह र विभिन्न निकायको प्रयासमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानस्थित महभिर झरनाको सौन्दर्यकरण गरिएको हो।

बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने र आउने पर्यटकहरुलाई आकर्षित गराउन पूर्वाधार निर्माण गरिएको छ।

झरनाको पूर्वाधार विकासका लागि पछिल्लो दुई वर्षयता रु १५ लाखभन्दा धेरै खर्च भएको छ। महभिर झरना बेनी–जोमसोम सडकको नजीकै छ। तर प्रचारप्रसार र पूर्वाधारको अभावले ओझेलमा परेको थियो। झरनाको फेदीमा

कृत्रिम पोखरी, घेराबार, पार्क, सूचना बोर्ड, विश्रामस्थल र पदमार्ग निर्माण भएको वडाध्यक्ष गमप्रसाद फगामीले बताए।

यस वर्ष कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाले झरनाको फेदीमा तारबार गरेको छ।

झरना वरिपरी तीन वटा विश्रामस्थल बनाइएको छ। जहाँ सुविधायुक्त तरिकाले बसेर झरनाको दृश्य अवलोकन गर्न सकिन्छ। पर्यटकलाई सुरक्षित रुपमा अवलोकन गर्ने व्यवस्था मिलाउन तारबार गरिएको हो।

प्रसारण लाइन आयोजनाको वातावरण तथा सामाजिक विभागले तारबार लगाउन वडा कार्यालयले सिफारिस गरेको छ। महभिर झरनामा पूर्वाधार बनाउन पाँच लाख रुपैयाँ खर्च भएको आयोजनाका प्रमोद न्यौपानेले बताए।

यसैगरी शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङको रु तीन लाख सहयोगमा झरना अवलोकन गर्ने ठाउँमा ढुङ्गा बिछ्याइएको छ। गमलामा फूल रोपिएको छ। सडक छेउमा झरनाको परिचय दिने सूचना बोर्ड राखिएको छ भने प्रवेशद्वारसमेत निर्माण भएको छ।

गत वर्ष गाउँपालिकाको रु पाँच लाख सहयोगमा झरनाको फेदीमा भिरालो जमीन सम्माएर मैदान र फराकिलो बनाइएको थियो। ८० वटा ग्याबियनको पर्खाल लगाएर झरनाको फेदीमा दुई मिटर गहिरो कृत्रिम पोखरी बनाइएको छ।

पूर्वाधार सुविधासँगै झरनाको अवलोकन गर्ने पर्यटकको चहलपहल बढेको महभिरका कृष्णकुमार गर्बुजाले बताए।
यसअघि प्रचारप्रसार र पूर्वाधारको कमीले झरना सुनसान थियो। झरनाको फेदीमा रहेको साढे १६ रोपनी सार्वजनिक जग्गा पहिचान गरिएको छ। सार्वजनिक जग्गाको अतिक्रमण हटाएर पूर्वाधार निर्माण गर्ने वडाध्यक्ष फगामीले बताए।

पहाडको फेदीमा करीब एक सय मिटर माथिबाट निकै आकर्षक र मनमोहक देखिने बेनीकी प्रतिज्ञा सुवेदीले बताए। उक्त झरना नजीकै मन्दिर पनि छ । जहाँ पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेकाले झरनाको धार्मिक महत्वसमेत छ।

रेलिङ, पार्किङ स्थल र प्रतीक्षालय निर्माण गर्ने योजना रहेको वडाध्यक्ष फगामीले जानकारी दिए।

यस वर्ष सार्वजनिक शौचालय बनाउन रु दुई लाख विनियोजन भएको छ।

साहासिक खेल क्यानोइङ सञ्चालन गर्न सम्भाव्यता अध्ययनको तयारी भएको वडाध्यक्ष फगामीले बताए। व्यवस्थित बनाएपछि प्रवेश शुल्क लिने र गाउँपालिकाको आयस्रोतका रुपमा समेत परिचालन गर्न सकिने सम्भावना छ ।

प्रकाशित मिति: : 2019-10-10 10:31:52

प्रतिकृया दिनुहोस्