फेवाताल वरिपरि घर बनाउने पहिलो नेपाली भन्छन्–बाघले हत्तु बनायो (भिडियो स्टोरी)

तस्बिरः राजेन्द्र कुँवर

आजभन्दा ५० वर्षअगाडि पोखराको फेवाताल कस्तो थियो? यो प्रश्न सोधियो भने तपाईको उत्तर के होला?

वर्तमान अवस्थालाई मूल्याकंन गर्दा धेरैले ५० वर्षअगाडि फेवाताल वरिपरि घर भएको अन्दाज गर्न सक्लान।

तर, फेवाताल वरिपरि घर बनाउने पहिलो व्यक्ति कृष्णप्रसाद पहारीको भनाई अर्के छ। ५० वर्षअगाडि फेवातालको अवस्था कस्तो थियो? उनको मुखबाट यो कुरा सुन्दा कुनै किवंदन्ती सुने झै लाग्छ।

‘५० वर्षअघि यहाँ घर थिएन। जंगल र झारपातले छोपेको थियो। केही खाली ठाउँमा धान, कोदो र घैया रोप्ने ठूलो चौर जस्तै थियो,’ कृष्णप्रसाद भन्छन्–‘त्यति बेला ताल वरिपरि एक्लै घुम्न डर लाग्थ्यो। स्थानीय फेवाको पानी पिउँथे।’

फेवाताल नजिकै सबैभन्दा सानो फुसको छाना भएको घर निर्माण भएको थियो। त्यो घर कृष्णप्रसादले २०२६ सालमा निर्माण गरेका थिए।

‘फेवाको पानी कञ्चन र सफा थियो। माछापुच्छ्रे हिमाल जस्ताको त्यस्तै देखिन्थ्यो,’ उनले भने–‘त्यति बेला गोराहरु फेवातालमा देखिने माछापुच्छ्रे र धौलागिरिको छाँया हेर्न आउथे।’

कृष्णप्रसादका अनुसार फेवाताल वरिपरि बासैबासको झाडी थियो। झाडीमा उफ्रिन बादरहरु आउने गर्दथे। उनीहरूलाई धपाउन निकै मिहिनेत गर्नुपथ्र्यो।

‘एकदिन त बादर नआउन भनेर एउटा बादरलाई समाति कालो मोसो दलेर पठाएका थियौं,’ उनले भने।

कृष्णप्रसाद बुवाका दुई भाईबीच अंशबण्डा भएको हुनाले आफू फेवाको पश्चिमी मोहडामा आएर बसेको सम्झिन्छन्।

‘स्याल, बाघ र भालुको बासस्थान जस्तै लाग्ने। अहिलेको लेकसाइड सम्झिदा पनि इतिहासै जस्तो पो लाग्छ,’ उनले भने।

उनले घर बनाउँदै गर्दा जितबहादुर भट्टराई नाम गरेका एकजना पाका उमेरका व्यक्तिले आफूलाई सोधेको कुरा बताउँछन्, ‘उहाँले त मलाई कसका छोरा हौं? यस्तो अनकन्टार ठाउँमा किन घर बनाएको भनेर सोध्नु भयो।’

पहिले पहिले यहाँ दिउँसै भूतले डराउँछ भन्थे।

कृष्णप्रसादले २०२६ सालमा घर बनाउँदा फुसको थियो। उनले पछि जस्ताको पाता राखेर घर बनाए। यसपछि माटो र ढुंगा खोदेर काँचको घर बनाए। ‘४५ वर्षको अवधिमा पहिले फुस र खरको हुँदै जस्ता पाताको र अन्त्यमा माटो, ढुंगाको घर बनाए’, उनले इतिहास कोट्याए।

फेवा साइडमा उनको एक्लो घर देखेर ताल हेर्न आएका गोराहरू पनि छक्क पर्थे। उनीहरू होटल नभएको अवस्थामा उनकै घरलाई होटल सोचेर बस्ने गर्दथे।

‘घरमा पाहुना भएर आउने गोराहरू हामीले जे खान्थ्यो। त्यही खान्थे र जाने बेलामा थोरै पैसा दिएर जान्थे,’ उनले भने–‘कच्ची घर बन्न थालेपछि गोराहरू १ देखि ३ महिनासम्मै बस्ने गरि आउन थाले। त्यति बेला ७५ रुपैयाँ तिरेर फर्किन्थे।’

अहिले यो ठाउँमा बस्ती यति बाक्लो भइसकेको छ। ओल्लो घरबाट पल्लो घर केहि देखिदैन्।

एकदिन आफ्नो गोठमा पसेर बाघले २२ भेडामध्ये २१ खाएको उनलाई सम्झना छ। ‘हामी तर्सिएका थियौं’, उनले कहानी सुनाए।

उनले त्यति बेला आफूले ६ वटा भेडा अरुलाई पनि पाल्न दिएको इतिहास कोट्याउँदै भने– ‘गोठ खालि भएपछि मागेर फिर्ता ल्याए।’

उनले यही ठाउँमा पुरानो घर भत्काएर २०५४ सालमा नयाँ घर बनाए। अहिले यो घरमा फुजी गेस्टहाउस रहेको छ।

गोठाला बन्दै पर्यटन उद्यमी (भिडियोसहित)

प्रकाशित मिति: : 2019-11-15 13:34:57

प्रतिकृया दिनुहोस्