भोटेकोशीमा  मंसिर १० देखि अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता हुँदै

तस्बिरः बिएल नेपाली सेवा

सिन्धुपाल्चोकको भोटेकोशीमा आगामी मंसिर १० देखि तीन दिनसम्म १८ औं हिमालयन ह्वाइटवाटर च्यालेन्ज -२०१९ हुने भएको छ। ‘पर्यटनको लागि नदि संरक्षण’ भन्ने मुल नारासहित नेपाल एशोसियशन अफ र्‍याफ्टिङ एजेन्सीज् (नारा) ले अन्तर्राष्ट्रियस्तरको जलयात्रा प्रतियोगिता गर्न लागेको हो।

शाहसिक जलयात्रामार्फत मुलुकको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रियस्तरको र्‍याफ्टिङ तथा कायाक प्रतियोगिता गर्न लागेको नाराले जनाएको छ।

सरकारले अगामी वर्षलाई 'नेपाल भ्रमण वर्ष २०२०' मनाउँने पूर्वसन्ध्यामा आयोजित अन्तर्राष्ट्रियस्तरको जलयात्राले मुलुकको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने कार्यक्रमका संयोजक ईन्द्र राई जानकारी दिए।

‘यस्ता किसिमका अन्तर्राष्ट्रियस्तरको राफ्टिङ तथा कायाकिङ प्रतियोगिताले नेपालको पर्यटनलाई विश्व बजारमा प्रवर्धन पुग्नेछ’, संयोजक राईले भने।

यस वर्षको प्रतियोगितामा कायाक ईभेन्ट (अन्तर्राष्ट्रिय)  र कर्पोरेट र्‍याफ्टिङ रेस (राष्ट्रिय) प्रतियोगिता गरिने आयोजकले जानकारी गराएको छ।

‘अन्तराष्ट्रिय तर्फ स्लालोम, कायाक बोटर क्रस र कायाक डाउन रिभर रेस हुनेछ। त्यस्तै राष्ट्रिय तर्फ कर्पोरेट हाउसलाई सहभागी गराएर समूहगत र्‍याफ्टिङ रेस प्रतियोगिता गराईनेछ।

प्रतियोगितामा सहभागी हुनका लागि दर्ता शुल्क अन्तर्राष्ट्रियको लागि ५,५०० रूपैयाँ र राष्ट्रिय प्रतियोगिको लागि ३ हजार रूपैयाँ राखिएको आयोजकले जनाएको छ।

कर्पोरेट राफ्ट रेसको दर्ता शुल्क भने ७ हजार ५सय प्रति टिम रहेको आयोजकले जनाएको छ। 

र्‍याफ्टिङ रेस प्रतियोगिता अन्तर्गत प्रहिलो हुने समूहलाई नगद एक लाख, दोस्रो हुने समूहलाई ५० हजार रुपैयाँ तथा तेस्रो हुने समूहलाई २५ हजार रुपैयाँ नगद र प्रमाणपत्र तथा मेडल दिने आयोजकले जानकारी दिएको छ।

त्यस्तै कायाक इभेन्टमा दुवै पुरूष र महिलातर्फ प्रथमलाई हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजारसहित  मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार स्वदेशी तथा विदेशीसहित २०० जना प्रतियोगीहरू तथा आमन्त्रित पाहुनाहरू र अन्य सहभागी गरी करिब ३०० जना सहभागी हुने अपेक्षा आयोजकले जानकारी दिएको छ।

गत वर्ष पनि नाराले मर्स्याङ्दी नदीमा कायाक तथा र्‍याफ्टिङ रेस प्रतियोगिता आयोजना गरेको थियो।
नाराले सन् २००२ देखि नियमित रूपमा नेपालमा अन्तर्राष्ट्रियस्तरको (हिमालयन ह्वाइटवाटर च्यालेन्ज) नामक जलखेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको छ।

नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सीज् (नारा) को आयोजनामा नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनात्मक सहकार्य रहनेछ।

साथै प्रदेश-३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, हिमालयन रिभर गाईड एसोसिएसन नेपाल, नेपाल राफ्टिङ एण्ड क्यानोईङ एसोसिएसन, सिन्धु पर्यटन ब्यवसायी संघ, बलेफी गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिकाको सहकार्यमा प्रतियोगता सञ्चालन गर्न लागिएको हो।

 

प्रकाशित मिति: : 2019-11-24 17:56:16

प्रतिकृया दिनुहोस्