बद्रीकुमार कसरी वरिष्ठ साहित्यकार/पत्रकार विनयकुमार कसजू भए

विनयकुमार कसजू

विनय कसजू नेपाली समाजमा पत्रकार र साहित्यकारका रूपमा मात्र नभई मानव अधिकारकर्मी र सामाजिक अभियन्ताका रूपमा समेत परिचित छन्, चर्चित छन्। उनले आफ्नो जीवनको करिब ५ दशकभन्दा बढी समय सार्वजनिक क्षेत्रमा लगानी गरेका हुनाले नै उनको यस्तो परिचय बनेको हो।

उनले जीवनको एक -एक क्षण स्थानीय गाउँठाउँ र समाज, जिल्लाहुँदै राष्ट्रका लागि खर्च गरेका हुनाले पनि उनको यस्तो परिचय बन्न सहयोग पुगेको हो। रिडीबाट प्रारम्भ भएको उनको सार्वजनिक जीवनयात्रा क्रमश : पाल्पा, लुम्बिनी अञ्चल हुँदै राष्ट्रियस्तरसम्म फैलिएको छ। यसले पनि उनको योगदानलाई बुझाउन मद्दत गर्छ।

विनय कसजूको पुर्ख्यौली थलो गुल्मी जिल्लाको रिडी बजार हो। रिडी चर्चित धार्मिकस्थलको रूपमा रहेको छ। उनको पुर्खा मल्लकालिन समयमै भक्तपुरबाट बसाइ सरेर पाल्पा गरेको थियो। त्यसरी बसाई सर्नुपर्ने कारणचाही भक्तपुर दरबारमा त्यस बेला भएको एक त्रासदीपूर्ण घटना भएको अनुमान छ। सो घटनाका कारण शासकको कोप र दण्डबाट जोगिन उनका पुर्खाले भक्तपुर छाड्नु परेको भनाइ छ। वास्तवमा यसलाई बसाइ सराइ भन्नुको साटो विस्थापन भन्नु उचित हुन्छ।

भक्तपुरबाट पलायन भएपछि उनका पुर्खाहरूले डरत्रासकै कारण आफ्नो थर कसजू लुकाए र श्रेष्ठ लेख्न थाले। उनका अनुसार त्यसबेला कसजूहरूको केहि परिवार पूर्वतिर लागेको र भारतको दार्जिलिंग र सिक्किमसम्म पुगेको थियो र त्यसरी जानेहरूले भने कसजू थर लुकाएर प्रधान लेख्न थाले। पाल्पा गएपछि उनका पुर्खाहरूले जिविकोपाजनका लागि व्यापार व्यवसायलाई रोजे। उनको बुबा मोती कुमार कसजूको पालामा आइपुग्दा त्यो व्यापार व्यवसाय भने कपडा पसलमा रुपान्तरित भइसकेको थियो।

विनय कसजूको जन्म ज्योतिषले धरै पछि बनाएको चिना अनुसार २००४ भदौं कृष्ण दशमी तिथि, तदनुसार भदौं २५ गते बुधबार (सेप्टेम्बर १०, १९४७) हो। तथापी नागरिकता लगायतका औपचारिक कागजातमा भने उनको जन्ममिति २००४ साउन ३ गते शुक्रबार (जुलाई १८, १९४७) उल्लिखित छ।

उनको आमाको नाम तारालक्ष्मी कसजू हो। उनका आमाबुबाका जीवित तिन छोरा र तीन छोरीमध्ये उनी कान्छा हुन्। उनको बाल्यकाल भने पुर्ख्यौली थलो रिडी बजारमै बितेको थियो। बुबाको कपडा पसल भएका कारण पनि उनीको बाल्यकाल र किशोरवस्था रिडीमा बितेको थियो।

उनको प्रारम्भिक तथा माध्यमिक शिक्षा पनि पुर्ख्यौली थलोमै भयो। त्यसबेला आर्थिक दृष्टिले स्सम्पन्न परिवारले आफ्ना छोरालाई पढ्न भारतको दार्जेलिङ्ग वा नैनितालतिर पठाउने गर्थे। त्यसबेला रिडीमा कक्षा ८ सम्म मात्र पढाई हुने गरेकाले उनलाई त्यसपछिको पढाईका लागि काठमाडौँ पठाइयो। २०१८ सालमा उनी काठमाडौँ, फ़र्फ़िङ्गस्थित त्रिभुवन आदर्श विद्यालय (बोर्डिंग स्कुल) मा कक्षा ९ मा भर्ना भए र सोहि विद्यालयबाट २०२० सालमा प्रवेशिका (एसएलसी) परिक्षा उत्तीर्ण गरे।

एसएलसी परिक्षा उत्तीण गरेपछी उनी अध्ययनका लागि भारतको वाराणसी गए र विज्ञान विषय लिएर अध्ययन थाले। तर विज्ञानको पढाई राम्रो हुन् नसकेपछि उनले कला विषय लिए। यसैबीच उनका बुबाको निधन भएकोले पढाई रोकियो। त्यसपछि प्राइभेट परिक्षाथीको रूपमा उनले वाराणसीबाट आई ए उत्तीर्ण गरे। जेठा दाइ बिरामी भएकाले र साइला दाइ काठमाडौँमा पढ्न गएकाले उनले व्यवसाय सम्भाल्नु पर्यो। त्यसैले रिडीमा बसुन्जेल उनले पढ्न पाएनन्। जेठा दाइको निधनपछि भने उनी तानसेनमा बस्न थाले। त्यसपछि स्थानीय त्रिभुवन डिग्री कलेजमा अध्ययन गरेर उनले त्रिभुवन विश्वविद्यालयबाट २०२९ सालमा बीए उत्तीर्ण गरे।

उनले औपचारिक शिक्षा भने यति नै लिए। तर जीवनका लागि आवश्यक शिक्षा भने उनले जीवनभर लिइरहे। उनको अध्ययनको सिमा कुनै एक विषय रहेन। अध्ययन उनको रूचिको विषय पनि हो। त्यसैले राजनीति, साहित्य, पत्रकारिता, सूचना प्रविधिसहित उनले विविध विषयको गहिरो अध्ययन गरे। उनको अध्ययन यात्रा भने अहिले पनि जारी छ।

विनय कसजूको जीवनको किशोरकाल अरूको भन्दा अलि फरक देखिन्छ। किशोरावस्थामा प्राय : मानिसको रूचि खेलकुद, ज्ञानविज्ञानका विविध क्षेत्र र विपरित लिङ्गप्रतिको आकर्षणतिर हुन्छ। तर उनी त्यस्ता रूचि भन्दा पृथक देखिन्छन्। रिडी उसै पनि धार्मिकस्थलको रूपमा प्रसिद् ठाउ हो। त्यहाँ साधु सन्त र सन्यासीहरू हुनु कुनै अनौठो विषय होइन।

कालिगण्डकी र रिडीखोलाको सङ्गमस्थलको रूपमा रहेको सो ठाउमा ठुलाठुला मेलाहरू लाग्छन्। धार्मिक आस्था भएका मानिसहरू त्यहाँस्थित ऋषिकेश मन्दिरको दर्शन गर्न पनि उत्तिकै पुग्छन्। त्यसबेला अहिलेको जस्तो बाटोघाटोको सुविधा थिएन। मानिसहरू मुक्तिनाथको दर्शन गर्न पनि त्यहि बाटो भएर जान्थे। त्यस्तो समयमा विनय कसजूको सङ्गत त्यसरी आउने जोगी सन्यासीहरूसँगको सङ्गतका कारण उनले १२ वर्षसम्म माछा मासु खाएनन्। उनी पूर्णत : शाकाहारी बने। रिडीमा जोगी सन्यासीहरूसँग भएको सङ्गत काठमाडौँ आएपछि भने छुट्यो। किनभने कक्षा ८ पछि रिडीमा पढाई हुदैनथ्यो। तर, एसएलसी उत्तीर्ण गरेपछि उनी अध्ययनका लागि वाराणसी गएको बेला भने उनको फेरी साधु सन्यासीहरूसँग सङ्गत भयो। तर उमेरले परिपक्क र सचेत भइसकेका कारण उनी पहिलेभन्दा ठिक बेठिक छुट्याउन सक्ने भइसकेका थिए।

वाराणसीमा आफूले गरेको सङ्गतबाट साधु समाजमा विकृति र विसंगतीहरूको थुप्रो देखेपछि उनको मन वितृष्णाले भरियो। त्यसपछि उनले साधु, जोगी र सन्यासीहरूको सङ्गत सधैका लागि त्यागिदिए। साधु सन्यासीहरूको संगतको बेला एक वर्षसम्म उनी शनिबारका दिन मौन ब्रतसमेत बसेका थिए। त्यसबेला उनलाई मानिसहरूले जोगी हुन्छ भनेर भन्ने गरेको कुरा उनी अहिले पनि हाँसेर बताउने गर्छन्।

कक्षा ९ मा पढ्दासम्म उनको नाम 'बद्रीकुमार' थियो। तर, एसएलसी फर्म भर्ने बेलामा उनको चाहनाअनुसार नाम फेरियो र उनी भने 'विनयकुमार कसजू' ! नाम परिवर्तनको एउटा कथा छ।

फर्पिङ्गस्थित उनी पढ्ने विद्यालयका प्रिन्सिपल थिए कवि धरणीधर कोइराला, जागरणका कवि। फ़र्फ़िङ्ग अध्ययन र अध्यापनको वातावरण असाध्यै राम्रो थियो। त्यसबेला उनले विश्वकवि, बंगाली भाषाका सुप्रसिद साहित्यकार रविन्द्रनाथ ठाकुरको उपन्यास 'गोरा' पढ्ने अवसर पाए। उक्त उपन्यास ऋदि बहादुर मल्लले अनुवाद गरेका थिए।

उनी सुप्रसिद्द साहित्यकार गोविन्दबहादुर मल्ल 'गोठाले' र विजय मल्लका पिता थिए। उपन्यासमा एक पात्रको ना 'विनय' थियो। बद्रीकुमारलाई त्यो नाम भएको पात्रले यसरी आकर्षित गर्यो कि उनी आफ्नो नाम फेरेर विनय राख्न इच्छुक भए।

एकदिन उनले विद्यालयका प्रिन्सिपल धरणीधर कोइरालालाई आटे गरेर भने, "सर ! म आफ्नो नाम बद्रीकुमारबाट फेरेर विनय राख्न चाहन्छु।" स्वाभाविक थियो, नाम फेर्नुका कारण जान्न खोजे प्रिन्सिपल कोइरालाले। उनले नढाटी भने, 'मलाई गोरा उपन्यासको विनय नाम गरेको पात्र असाध्यै मन पर्यो। त्यसैले म नाम फेरेर विनय राख्न चाहन्छु। "उनलाई रिडीमै पनि नाम फेर्न मन नलागेको होइन।

रिडीमा बद्री नामका अरू तिन जना मानिस थिए। त्यसैबेला दशैँको बिदा थियो। तैपनि प्रिन्सिपल कोइरालाले विद्यालयमा भएका २०/२५ विद्याथीका सामु घोषणा गरिदिए, "आजैदेखि बद्रीको नाम विनय भयो, तिमीहरूले त्यहि नामबाट बोलाउनु। " सम्भवत : सुप्रसिद साहित्यिक कृति गोरा कम उमेरमै पढी सिध्याएका कारण पनि प्रिन्सिपल रहेका साहित्यकार धरणीधर कोइराला उनीबाट प्रभावित थिए। र त्यही कारण नाम परिवर्तन सहत रूपमै भयो।

विनय कसजूको विवाह बाग्लुङ्गको राजभण्डारी परिवारकी छोरी गंगादेवी राजभण्डारीसँग २०३२ सालमा भयो। गंगादेवी कसजूले लामो समय शिक्षण पेशामा बिताइन् र अवकाश लिइन्। कसजू दम्पतिका तीन छोरा, तीन बुहारी र तीन नाति छन्।

प्रधानको पुस्तक बालसाहित्यमा विनय कसजू योगदान र मूल्याङ्कनबाट

प्रकाशित मिति: : 2019-11-27 18:04:30

प्रतिकृया दिनुहोस्