महिलाको सफलताको कथा–३
कुनै बेला उनलाई किताब भन्यो कि ज्वरो आउँथ्यो। दिनभरी टेलिभिजनमा आउने शृंखलामा रमाउँथिन्। किशोरी हुँदा उनको सपनै थियो, नायिका बन्ने।
तर, बिहे भएपछि उनको जीवनले कोल्टे फेर्यो। श्रीमान रोजगारीका लागि कोरिया जाने नेपालीलाई कोरियाली भाषा सिकाउँथे। उनी घरमा बसेर मज्जाले टिभी हेर्थिन।
एकदिन उनलाई पढाईं छोडेकोमा ग्लानी भयो। फेरि अध्ययन गर्ने सोच पलायो। यतिबेला उनको काँखमा ११ महिनाको बच्चा थियो।
उनी श्रीमानको अनुमति लिएर नेशनल मल्टिपल कलेजमा प्याथोलोजी विषयमा भर्ना भइन्।
डा.दीपा पाण्डे। प्राकृतिक चिकित्सामा एमडी गर्ने पहिलो र एक मात्र नेपाली महिला। अहिले आफ्नो मोडिएको जीवन देखेर आफैं दंग पर्ने गर्छिन्।
कुनै बेला थियो, उनलाई परिवारका अन्य सदस्यले पढपढ भनेर सधैं चिच्याई रहनु पथ्र्यो।
पाल्पा टक्सार टोलमा जन्मिएकी दीपा सानोमा चलचित्रको हिरोइन भएको कल्पनामा डुब्थिन्। उनलाई कोर्षको किताब भन्दा अभिनयमा रुचि थियो।
पढाई उनको नराम्रो थिएन। तर, मिहिनेत गर्न भनेपछि जागरै लाग्दैन्थ्यो। २०५१ सालमा पाल्पाबाट एसएलसीको परीक्षा पुरा गर्दा उनको डिभिजन थियो, दोस्रो।
त्यति बेला दोस्रो डिभिजनमा पास हुनु भनेको चानचुने कुरा थिएन। एसएलसी परीक्षाको सफलता लगत्तै उनी क्याम्पस अध्ययनका लागि काठमाडौं हानिएकी थिइन। उनले बागबजारस्थित पद्मकन्या क्याम्पसमा मानविकी संकायतर्फ भर्ना पनि लिइन्। तर, एकदिन कलेज जाने क्रममा गाडीमा केही केटाहरूले नराम्रोसँग जिस्काएपछि उनले कलेज जानै बन्द गरिन्।
यति बेला उनी दिनभरी घरमा टिभी हेरेर बस्थिन्। उनको व्यवहारबाट आजित परिवारले बिहे गरिदिने निर्णय गरे। वैदेशीक रोजगारीबाट फर्किएका मनोज थापासँग उनको विवाह भयो।
श्रीमानको घरमा तीन जनाको परिवार। श्रीमान वैदेशीक रोजगारीका लागि कोरिया जाने नेपाली कामदारलाई कोरियाली भाषा सिकाउन निस्किहाल्ने। उनी दिनभरी सासुसँग सिरियल हेर्दै मस्त।
महिलाको सफलताको कथा–२
आमा, त्यसैले त महान हुन्छिन्- भिडियो रिपोर्ट
एकदिन उनको भेट स्कुलमा आफूसँगै पढेका केही साथीहरूसँग भयो। सबै एक सय एक। कसैले सरकारी नोकरी खान थालिसकेका थिए, कोही प्राइभेट फर्ममा संलग्न।
साथीहरूको प्रगति देखेर उनको मनमा चस्स बिजेछ। पढ्न खासै मन नगरेपनि उनको पढाई नराम्रो भने थिएन। थोरै मिहिनेतमा पनि उनी राम्रै अंक ल्याउँथिन्।
अब पुरानो साथी भेटपछि उनलाई साँचो अर्थमा पढाईंको महत्व थाहा भयो। उनी छटपटिन थालिन्।
एकदिन श्रीमानसँग स्वीकृति लिएर पुनः कलेज भर्ना भइन्। ३ वर्षपछि पुनः अध्ययनमा फर्किने उनको निर्णय आफैंमा कुनै फिल्मको पटकथाभन्दा कम थिएन।
एक त बच्चा कि आमा। त्यसमा पनि प्याथोलोजीको पढाईं। उनलाई सुरुका दिन विधार्थी मात्र होइन, शिक्षकहरूले पनि घोचपेच गर्न कुनै कसर बाँकी राखेनन्। अझ, विद्यार्थीहरू उनलाई देखेर एक–आपसमा मुखामुख गर्थे।
शिक्षकहरू पनि उनको ‘मजाक’ उडाउँदै कक्षाका अल्लारे विद्यार्थीलाई नसियत दिन्थे, ‘दीपालाई हेर। राम्रोसँग पढेनौं भने यसरी नै बुढेसकालमा पढ्न आउनुपर्ला?’
शिक्षकहरूको यो व्यवहारले वास्तवमै उनलाई निकै पीडा दिन्थ्यो।
‘म थुप्रै पल्ट ट्वाइलेटमा बसेर रुएकी छुँ,’ महिलाको सफलताको कथा स्तम्भका लागि बिएल नेपाली सेवाले उनीसँग अन्तर्वार्ता गर्दा भनिन्, ‘तर, यसले मभित्र सुतेको इख जाग्यो। अरुभन्दा राम्रो गरेर देखाउँछु भन्ने आत्मविश्वास जागृत भयो।’
दीपाको हाल ललितपुर बागडोलस्थित नयाँ आकाशे पुलको छेउँमै ‘स्केभिन’ नाम गरेको एउटा अस्पताल छ। जहाँ शारीरिक, मानसिक तथा विभिन्न स्वास्थ्यसम्बन्धि समस्याको प्राकृतिक उपचारद्धारा निदान गरिन्छ।
दीपाले आफूसँगै श्रीमानलाई पनि डाक्टर बनाउने अभियानमा सम्मिलित गराइसकेकी छिन्। उनका श्रीमान हाल संस्कृत विश्वविद्यालयमा योगामा पीएचडी गर्दैछन्।
दीपा प्राकृतिक चिकित्सामा आफ्नो रुचि बढ्नुमा सानुबुबा र सानीआमाको ठूलो हात रहेको बताउँछिन्।
‘पढाई छोडेको ३ वर्षपछि पुनः अध्ययनमा फर्किदा म केही समय अलमलमा थिए। तर, कलेजमा ७० जनालाई उछिनेर तेस्रो भएपछि केही गर्न सक्छु भन्ने लाग्यो,’ ४१ वर्षीय दीपाले भनिन्।
सन् २००२ मा उनी भारतको गोरखपुरस्थित आरोग्य मन्दिरमा २ महिनाका लागि प्राकृतिक चिकित्साको कक्षा लिन जाँदा नेपालीमाझ सर्वाधिक अंक ल्याएर उत्कृष्ट भइन्।
यसले उनलाई प्राकृतिक चिकित्साशास्त्रको अध्ययन तर्फको यात्रा सुरु गर्न अभिप्रेरित गर्यो।
सन् २००९ मा उनी भारतको राजीव गान्धी विश्वविद्यालयबाट ‘ब्याचलर इन नेचुरोपेथी एन्ड योगिक साइन्स’ को अध्ययन पुरा गर्न कर्नाटका पुगेकी थिइन।
यतिबेला उनले आफ्नो श्रीमानलाई पनि प्राकृतिक चिकित्सा र अकुपंचरको अध्ययन गर्न हौसाइन्।
तर, जीवविज्ञान प्रति अनभिज्ञ दीपालाई कोर्ष पुरा गर्न हम्मे हम्मे पर्यो। जीवविज्ञानको ‘न्युमेरिकल’ शब्द जिन्दगी नसुनेकी दीपा सुरुको वर्ष त लगभग ‘डिप्रेसन’ मा पुगेकी थिइन।
‘फी पहिले तिरिसकेको थिए। त्यसैले फर्किने कुरा भएन। वास्तवमा मैले दूर्साहष नै गरेको थिए’, उनी पुरानो कुरा सम्झिन्छिन्।
महिलाको सफलताको कथा–१
एक विदेशी भुगोलविदको कारण फेरिएको सुमित्राको यात्रा (भिडियो रिपोर्ट)
रातदिनको मिहिनेतपछि दीपाले राम्रै नम्वर ल्याएर परीक्षा उत्र्तिण गरिन्।
उनी भारतमा पढ्न जाँदा उनको छोरा ४ कक्षामा पढ्दै थिए भने छोरी २ मा।
‘भारतमा पनि बच्चा पाइसकेकी आमा पढ्न आएको भन्दै सबै मलाई हेर्न आउँथे। म लाजले टाउको लुकाएर बस्थे,’ उनी भन्छिन्।
५ वर्षमा उनले आफ्नो पढाईँ त पुरा गरिन् तर भोक भने अझैं मेटिएन। त्यसैले उनी त्यहीँ बसेर एमडी पनि पुरा गर्ने निर्णयमा पुगिन्।
‘मलाई सासु र श्रीमान दुबैले साथ दिनुभयो। यसैको उपज हो आज म यो अवस्थामा छुँ,’ उनले भनिन्।
नेपालबाट पढ्न भारत जाँदा उनले काखे बालकहरूलाई सासुको जिम्मा लगाएकी थिइन। सन् २०१७ मा फर्किदा छोराछोरी कलेज पढ्ने भइसकेका थिए।
उनले छोरी स्केना र छोरा मेल्भिनकै अगाडिको नाम जोडेर स्केभिन हस्पिटल स्थापना गरेकी हुन्।
हाल यो अस्पतालमा नेपालभरि बाट उपचार गर्न बिरामीहरू आउने गर्छन्।
स्केभिन हस्पिटलमा उनले झण्डै २५ जनालाई रोजगारी दिएकी छन्।
औषधीको प्रयोग बिना उपचार गरिने पद्धतिलाई प्राकृतिक चिकित्सा भनिन्छ।
उनको अस्पतालमा योग, ध्यान, अकुपंचर, अकुप्रेसर, प्राकृतिक पद्धति तथा विभिन्न थेरापीको माध्यमबाट रोगको उपचार गरिन्छ।
कुनै बेला हिरोइन बन्ने सपना बुनेकी दीपा कलाकार त बन्न सकिनन्। तर, उनले जीवनमा देखाएको साहस महसुस गर्ने हो भने उनी कुनै फिल्मको नायिकाभन्दा कम छैनन्।
यो पनि हेर्नुहोस्