प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेसका सभापति शिक्षण अस्पताल

फाइल तस्बिर: बिएल

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शिक्षण अस्पताल पुगेका छन्।

संक्रमणको जोखिम हुनसक्‍ने बताउँदै ओलीसँग भेट्नका लागि तत्काल कठिन रहेको बताएपछि देउवा नभेटीकन फर्केका छन्। देउवाले ओलीका आफन्त र चिकित्सकसँग भेटेर ओलीको स्वास्थ्यबारे जानकारी लिएका थिए। 

अस्पतालबाट बाहिरिने क्रममा देउवाले संक्रमणको जोखिमका कारण ओलीसँग भेट्न नपाए पनि सहयोगी र चिकित्सकसँग कुराकानी गरेको बताए। देउवाले ओलीको स्वास्थ्यमा निरन्तर सुधार भएको र बाहिर हल्ला भएजस्तो अवस्था नरहेको जानकारी आफूलाई चिकित्सकहरुले दिएको संचारकर्मीसँग बताए।

मंगलबार ‘एपेन्डिसाटिस’ तथा ‘पेरिटोनाइटिस’को शल्यक्रिया गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा बुधबार सुधार आएको अस्पतालले जनाएको छ।

महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले बुधबार बिहान विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन्।

स्वास्थ्यमा सुधार आउँदै गएपछि प्रधानमन्त्री ओलीलाई दिइएको ‘लाइफ सर्पोट सिस्टम’ क्रमिक रुपमा कम गर्दै लगिएको डाक्टरले बताएका छन् ।

श्रेष्ठका अनुसार प्रधानमन्त्री ओली राम्रोसँग कुरा गर्न सक्ने अवस्थामा छन्। प्रधानमन्त्री ओलीलाई विशेषज्ञ चिकित्सकहरुबाट शल्यक्रिया भएपछि सघन उपचारकक्षमा २४ सैं घन्टा निरन्तर निगरानीमा राखिएको थियो।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएसँगै भेन्टिलेटरबाट हटाइएको छ।

प्रकाशित मिति: : 2019-11-27 13:20:23

प्रतिकृया दिनुहोस्