त्यो एक समय थियो, राजा वीरेन्द्र गीत गाउन बोलाउँथेः लोक गायक कृष्ण कँडेल

तस्बिरः बिएल

तपाईले पक्कै पनि इन्द्रेणी हेर्नुभएकै होला। त्यसमा सँधै आउने मिठो स्वर भएका मान्छेलाई पनि चिन्नु भएकै होला। कति त उनका फ्यान पनि हुनुहुन्छ होला। उनी हुन कृष्ण कँडेल। अब त यस्तो बनिसकेको छ, कृष्ण कँडेल र इन्द्रेणी उस्तै उस्तै हो।

उनी सुर्खेत जिल्लामा जन्मिएका हुन्। त्यहिँको एक सामुदायिक विद्यालयमा १० कक्षा सम्म पढे। उनको बाल्यकाल चाख लाग्दो छ। उनका बुवाले घरमा ७०–८० जति गाई बाख्रा पालेका थिए। त्यतिबेला उनको दैनिकी गाई वस्तुको गोठाला लाग्दै बित्थ्यो।

उनी पुराना दिन सम्झिँदा खुब आनन्दित हुन्छन्। त्यतिबेला उनी स्कुलबाट फर्किएर घर आइसकेपछि उनी गाई वस्तुसँगै रमाउँथे। उनी सानैदेखि सांस्कृतिक कार्यक्रम मन पराउँथे। रेडियो नेपालको चौतारी नामक कार्यक्रम खुब सुन्ने गर्थे। त्यो कार्यक्रममा मिठा मिठा मन बहलाउने सुमधुर गीत बज्थे। उनलाई बाबाले रेडियो किनिदिएका थिए। लोक सांस्कृतिक कार्यक्रमका पारखी उनी गोठाला जाँदासमेत बाबाले किनिदिएको रेडियो लिएर जान्थे। त्यसबेला उनको सबैभन्दा नजिकका साथि रेडियो, गीत र गाइवस्तु थिए।

कृष्ण सानैदेखि आत्मीय र सहयोगी भावका थिए। गीत गाउनमा पनि त्यति नै खप्पिस। गाउँघर वरपर हुने सांस्कृतिक कार्यक्रमहरुमा भाग लिन जान्थे। धेरै पल्ट जितेर आउँथे भने कमै मात्रामा हारेर आउँथे।

सुर्खेतमा जन्मिएका कँडेलले सरकारी जागिर पनि खाएका थिए। उनी नेपाल आर्मीमा कार्यरत थिए। उनी भन्छन् ‘जब म किशोरावस्थामा थिए। रहर लाग्थ्यो। सरकारी जागिर कस्तो हुन्छ होला भनेर। घर नजिकका एकजना काकाले भन्नुभयो केटा पुलिसमा जागिर खान्छस्? पुलिसहरुसँग डर लाग्ने भएकाले नाई भनें। अनि काकाले फेरि सोध्नुभयो त्यसो भए आर्मी बन्छस् त?’

त्यसबेला उनलाई कुन्नी के लाग्यो खै? मैले पनि हुन्छ भन्दिए। रहर लाग्यो जागिर खानलाई। जागिर खान गए पनि उनको मन त गीत संगीतमै थियो। त्यो जागिरले उलाई धेरै कुरा सिकायो। धेरै ठाउँको बारेका जनकारी गरायो । उनले थपे ‘मैले जागिर नखाएको भए सायद हरेक ठाउँ घुम्न र त्यहाँको बारेमा बुझ्न पाउने थिएन। त्यो जागिरले पनि हरेक ठाउँ बुझ्न र त्यहाँका समस्याबारे अध्ययन गर्नमा सहयोग पुर्यायो। म जागिर प्रति आभारी छु।’

पेशाले सरकारी जागिरदार भएपनि उनको मन गीत संगीतले तानिरहेको थियो। त्यसैले उनी चाँडै नै मौलिक संस्कृति बचाउन र सांगीतिक क्षेत्रसँग घुलमिल हुन भनेर काडमाडाै‌ आइपुगे। यो २०४७ सालको कुरा थियो। उनी दोस्रो पटकको काठमाडौं आएका थिए।

कृष्ण यो भन्दा पहिला एक पटक साथीहरुसँग काठमाडैंमा आएका थिए। गाउँले परिवेशमा हुर्केका उनी लामो समय काठमाडौंमा टिक्न सकेनन्। उनी पहिलो पटक काठमाडौं आउँदा यहाँको वातावरण स्वच्छ थियो। कलङ्की र पशुपती लगायतका क्षेत्र निकै सफा थिए। प्रकृति प्रेमि उनी हरियो जंगल, स्वच्छ हावा र चराचुरुङ्गीको चिरबिर आवाजसँगै गीत गुन्गुनाउँथे।

काठमाडौंमा बस्दै गर्दा सुनसान मधुर जङ्गलको समीपमा बसेर धेरै पटक गुनगुनाए। पहिलो पटकको यात्रा निकै आश्चर्य अनि रोमाञ्चक थियो। किनकि त्यसअघि उनका साथी भनेका रेडियो र वस्तुभाउ मात्र थिए। नयाँ कुरा देखेका थिएनन्। उनलाई ती सब कुरा अचम्म लाग्थ्यो। मान्छेहरु सी.......!!! गर्दै कुकरमा सिटी लगाएर खाना पकाएको देख्दा झन अनौठो मान्थे। उनको घरतिर अगेनामा भात पकाउने गरिन्थ्यो।

उनी जब गीत संगीतकै लागि भनेर काठमाडौं आए, त्यसबेलाको अनुभूती यसरी सुनाए ‘दोस्रो पटकको काठमाडौं आवागमनले मलाइ यहाँ बस्न वाध्य गरायो। सँगै मैले पनि अठोट लिएको थिए, गीत संगीतमा नयाँ केही गर्नु छ भनेर। रेडियो नेपालमा गएँ। सानो भएर होला, त्यहाँका मान्छेहरुसँग बोल्न अलि डर लाग्थ्यो। तर पछि बिस्तारै बानि पर्दै गयो। अनि रेडियो नेपाल पनि मेरो लागि सहज बन्यो।’

उनले सुनाएका थुपै अनुभूति निकै रोचक र चाख लाग्दा छन्। उनी काठमाडौंको ए बी सी टेलिभिजनमा गन्धर्व शैलीमा समचार भन्थे। त्यो शैलीलाई लिएर उनका साथीहरुले खुब उडाए।

कँडेलले बिएल नेपालीसँग कुरा गर्दै आफ्ना गीतहरुको बारेमा भने ‘रेडियो नेपालमा अझै मेरा दुई सय भन्दा बढि गीतहरु रेकर्ड छन्।’ उनले थपे ‘स्वर्गीय राजा वीरेन्द्रको पालामा गीत गाउन गइन्थ्यो। राजाले दरवारमा बोलाउनु हुन्थ्यो। अनि म खुसी भएर जाने गर्दथे। राजाकै निकटका मलाई बाहिर लिन आउनु हुन्थ्यो। रमाइलो हुन्थ्यो।’

उनको दृष्टिकोणमा अहिले लोक गीत बलात्कृत भएको छ। लोक गीत र आधुनिक गीत छुट्याउन गाह्रो हुने गरि बिकृति भएकाे छ। भन्छन् ‘जस्ले जे जस्तो गीत गाइदिए पनि भयो।’

तर उनी आफै ज्योती मगरसँग अनेकार्थी शब्दमा दोहोरी खेल्छन्। उनी त्यसबारे स्पष्टिकरण यसरी दिन्छन् ‘त्यो त एकछिन रमाइलोका लागि मात्र भनिएको हो। मैले उनलाई संगीतबाटै धेरै पटक भनेको छु, नानी लुगा लामो लगाउ भनेर?’  

उनले अहिले आफ्नै युटुब च्यानल खोलेका छन्। विभिन्न ठाउँमा गई लोकगीत गाउँछन्। साथै दु:खीहरुको सारथी पनि बनेका छन्। उनलाई यस्तो गर्दा खुब आनन्द आउँछ। उनको युटुब च्यानल इन्द्रेणी समाज टिम हो।

उनको इन्द्रेणी समाज टिम आफै बाजा–गाजा लिएर नेपालको विकट जिल्लामा जाने गर्दछ। इन्द्रेणी टिमले नेपालको अनेकौं जिल्लामा गई गरिब दु:खीहरुको भावनालाई गीत संगीतमा उनेर लाखौ नेपालीको हृदय छोएको छ। कति दु:खी बिरामीहरुको घरमा गई सम्वाद गर्छन्। गीत बनाउँछन् र युट्युबमा राख्छन्। सम्पूर्ण देशविदेशमा रहने नेपालीले गरेको सहयोग उनी दु:खी बिरामीको परिवारलाई वितरण गर्छन्। उनको टिममा हाल बाद्यवादक र गायक गायिका गरि झण्डै पच्चिस जना छन्। यो टिम बनाउन उनले लामो र कठिन संघर्ष गर्नु परेकाे थियाे। 

उनलाई सुरुवाती चरणमा निकै गाह्रो थियो। वाद्यवादकलाई दिने खर्च पुग्दैन थियो। बिरामीको घर सम्म जाने र उनीहरुको आवाजलाई आम मान्छेसामु पु‍र्याउने गीत र संवाद बनाउनलाई समेत पैसा हुँदैन थियो। आम्दानीको कुनै स्रोत थिएन। तर पनि हार नखाइ गरिब दु:खीको सेवामा लागिरहे। भन्छन् ‘आज भोलि धेरै नेपालीले बिरामीलाई सहयोग गर्न थाल्नुभएको छ। नेपालीहरुको जस्तो भावना भएका मान्छेहरु विश्वमा सायदै भेटिन्छन्। जब म बिरामीहरुको ओठमा मुस्कान देख्छु तब औधी खुसी हुन्छु।’

इन्द्रेणी समाजमा एक दशक बढी काम गरिसकेका कँडेल यो समाजलाई जिवन्त बनाउन चाहन्छन्। यो अविछिन्न हुनेछ भन्ने उनलाई विश्वास छ। त्यसैले भन्छन् ‘म मरे पनि इन्द्रेणी बाँचिरहनेछ।’

२०२९ सालमा सुर्खेत जिल्लाको पञ्चेश्वरी नगरपालिका–८ लाटिकाँडामा जन्मिएका गायक कृष्ण कँडेल यति बेला देशविदेशमा बस्ने नेपालीहरुको मनमा बस्न सफल छन्। उनको एउटै आग्रहबाट लाखौं नेपालीका सहयोगी हातहरु एकजुट हुन्छन्। त्यसैको खातिर उनी तमाम गरिब दु:खीको घाउँमा मलहम लगाउन सकिरहेका छन्।

हाल उनी पुरानो संस्कृतिको जगेर्ना गर्ने भनेर विभिन्न विकट क्षेत्रमा पुग्छन्। त्यही मौका छोपेर बिरामीको घरघरमा पनि पुग्छन्। बिरामीको समस्या र विकटको संस्कृतिलाई युट्युबकाे माध्यमबाट संसारभरि पुर्याएर नेपालीहरुलाई एकजुट गर्ने काम गर्छन्। उनले अहिले इन्द्रेणी समाजलाई सेवाथलो बनाएका छन्। सेवा नै धर्म हो भन्ने उक्तिलाई मुल मन्त्र बनाएका छन्।

इन्द्रेणी समाज हालसम्म ४६ जनाको मृगौला प्रत्यारोपण गर्नको लागि आर्थिक स्रोत जुटाउन सफल भएको छ। त्यति मात्र नभएर गंभिर प्रकृतिका रोगीहरुलाई सहयोग गरिसकेको छ। राज्यले पनि यसमा गहन भुमिका खेल्नु पर्ने उनको भनाइ छ।

बिएल नेपालीसँगकाे कुराकानिमा कँडेल भन्छन्, ‘यो दायित्व सरकारको हो। हामीले त थोरै सहयोगी हातहरु मात्र जुटाइदिएका हौं। तरपनि दिनमा २० जना जति बिरामीहरु सहयोगको याचना गर्दै हामीसँग आउनुहन्छ। कतिलाई हामीले सहयोग गर्न सकिरहेका हुँदैनौ। दु:ख लाग्छ। यो काम सरकारले गरिदिएको भए सबैले राहत पाउने थिए। उनको टिमले हालसम्म आर्थिक रुपले विपन्न, पढ्न नपाएका र गंभिर प्रकृतिकाे रोग लागेका गरी १ सय ५० भन्दा बढीलाई सहयोग गरिसकेको छ।

नेरा माविबाट एसएलसी दिएका कँडेलले नेपाल आर्मी सेवामा १६ वर्ष काम गरे। तीन दाजुभाइ र चार दिदीबहिनी मध्ये कृष्ण माइला हुन्। पाँच कक्षा पढ्दाखेरी नै विद्यालयका कार्यक्रमहरु गीत गजलको माध्यमबाट चलाउने उनी रेडक्रस स्काउटको तालिम समेत गीतको माध्यमबाट चलाएको सम्झिन्छन्।

आरआर क्याम्पसमा पढ्नका लागि भर्ना भएका कँडेलले २०४८ सालमा आर्मी बनिसकेपछि पढाइलाइ निरन्तरता दिन सकेनन्। सैनिक सेवामा भर्ना हुने वित्तिकै रेडियो सैनिक कार्यक्रम चलाउने अवसर पाएका उनी छ वर्षअघि एबीसी टेलिभिजनमा जोडिएका थिए। इन्द्रेणी समाज गठन गरिसकेपछि विभिन्न जिल्लाको संस्कृति र भाषाकाे जगेर्ना गर्दै आइरहेका छन्।

कँडेलले २०७२ सालमा सिन्धुपाल्चाेकमा भूकम्प पिडितहरुलाई र बर्दियाका बाढिपिडितहरुलाई सहयोग गरि योगदान पुर्याएका थिए। अपाङ्ग, असहाय, गरिब र रोगले ग्रस्त भएकाहरुलाई सेवा गर्न पाउँदा औधी खुसी हुने उनी गोर्खा दक्षिणबाहु लगायत दुई दर्जन बढी पुरस्कारबाट सम्मानित भइसकेका छन्।

कलाकार राज्यको गहना हो। पुरै जीवन कलकारिता क्षेत्रमा बिताएकालाई राज्यले हेर्नुपर्ने उनको मत छ। यहाँसम्म आउनुमा श्रीमती प्रतिमाको ठूलो साथ र सहयोग रहेको बताउँछन् संचारकर्मी, गायक तथा समाजसेवी कँडेल।

प्रकाशित मिति: : 2019-09-03 09:38:04

प्रतिकृया दिनुहोस्