स्वर्ण जितेपछि बैकुण्ठले कोकाकोला पिउँन मानेनन्

तस्बिरः बिएल नेपाली सेवा

 ‘बैकुण्ठको दौडको ५० वर्ष’ शृंखला–३ 

बिएल नेपाली सेवाले नेपाली खेलकुदका लिजेन्ड बैकुण्ठ मानन्धरले दौडिन सुरु गरेको ५० वर्ष पुरा हुन लागेको उपलक्ष्यमा ‘बैकुण्ठको दौडको ५० वर्ष’ शीर्षकमा हरेक साताको मंगलबार बिहान ८ बजे नियमित स्तम्भ प्रकाशित र प्रसारण गर्दै आइरहेको छ।

यसपालि हामी बैकुण्ठले नेपालबाट सुरु भएको पहिलो दक्षिण एसियाली खेलकुद (साग) मा जितेको पहिलो स्वर्णको विषयमा संवाद गर्दैछौं। सन् १९८४ मा सुरु भएको साग गेम्समा नेपालका लागि पहिलो स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी नै बैकुण्ठ मानन्धर हुन्।

उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि पहिलो स्वर्ण पदक जितेका थिए। जितबहादुर केसीले जसरी २०३० सालमा मनिलामा आयोजना भएको पहिलो एसियन ट्रयाक एन्ड फिल्डमा कास्य जितेर नेपालमा पहिलो अन्तर्राष्ट्रिय पदक भित्र्याएका थिए। त्यस्तै बैकुण्ठले पहिलो सागमार्फत नेपालका लागि पहिलो स्वर्ण पदक भित्र्याएका हुन्। 

त्यति बेला आफ्नो आलोचकको मुख बन्द गर्दै बैकुण्ठले स्वर्ण जितेका थिए। उनको खेल हेर्न तत्कालिन राजा विरेन्द्र दशरथ रंगशालामा उपस्थित भएका थिए। बैकुण्ठले अन्तिम ‘ल्याप’ पुरा गरेपछि राजा वीरेन्द्रले उठेर ताली बजाउँदै बैकुण्ठको सफलताप्रति सम्मान जनाएका थिए।

त्यतिबेला कोकाकोलाले नेपालमा आक्रामक मार्केटिङ गरेको थियो। उसले साग गेम्सको बन्द प्रशिक्षणमा बस्ने नेपाली खेलाडीले दैनिक ४ रुपैयाँ भत्ता प्रदान गरेको थियो। बैकुण्ठ पहिलो साग गेम्सको बन्द प्रशिक्षणमा बसेनन्। उनी खुराकहरू नमिल्ने कारण घरबाटै अभ्यासका लागि आउँथे।

उनले कोकाकोलाले प्रदान गर्ने भत्ता आफूलाई पनि उपलब्ध गराउन खेल पदाधिकारीलाई आग्रह गरेका थिए। तर, उनीहरूले क्याम्पमा नबसेको भन्दै भत्ता उपलब्ध गराउन मानेनन्।

म्याराथनमा नेपाललाई स्वर्ण जिताएपछि कोकाकोला कम्पनीले उनलाई कोक पिलाउन खोजेको थियो। तर, उनले अस्विकार गरे। कोक पिउन मानेनन्।

उनको यो व्यवहारबाट धेरै खेल पदाधिकारी चिढिए। तर, उनको भनाई थियो–‘मैले कहिल्यै नपिएको पदार्थ किन पिउँने? फेरि कोकाकोलाले खेलाडीलाई दिएको भत्ता पनि उनले पाएका थिएनन्। त्यसैले उसको मार्केटिङ किन गर्ने?’

यो घटनापछि पनि उनलाई घमण्डी भन्न थालिएको थियो। बरिष्ठ खेल पत्रकार नवीन अर्यालले साप्ताहीक रूपमा बैकुण्ठको खेल जीवनलाई लिएर यो स्तम्भ तयार पारेका छन्। ‘बैकुण्ठको दौडको ५० वर्ष’ को तेस्रो शृंखलामा उनको साग गेम्सको विषयलाई लिएर हामी प्रस्तुत भएका छौं।

उनीसँगको अन्तर्वार्ता हेर्नुहोस् भिडियोमा

 

प्रकाशित मिति: : 2019-11-26 18:33:32

प्रतिकृया दिनुहोस्