दुई पल्टको विश्व च्याम्पियन भारत १६ वर्षपछि न्युजिल्यान्डविरूद्ध विश्व कपमा आज (विहिबार) भिड्दै छ।
नटिङ्घमको ट्रेन्ट ब्रिज मैदानमा हुने विश्व कपअन्तर्गत १८ औं खेलमा भारतलाई यसअघि अभ्यास खेलमा किवी टोलीबाट भोगेको पराजयको बदला लिने मौका पनि हुनेछ। तर, आफ्नो प्रारम्भिक ब्याट्सम्यान शिखर धवनलाई गुमाएको भारतका लागि न्युजिल्यान्डविरूद्ध जित सम्भव पार्नु सोचेजति सहज हुनेछैन्।
दुई साताअघि ओभलमा भएको अभ्यास खेलमा भारतीय ब्याट्सम्यानलाई १ सय ७९ रनमा न्युजिल्यान्ड बलरले खुम्च्याएका थिए। त्यसैले आजको खेललाई भारतीय ब्याट्सम्यानको परीक्षाको रुपमा पनि लिइएको छ।
अस्ट्रेलियाविरूद्ध सतकीय इनिङ खेलेका धवन औलाको चोटका कारण दुई साता मैदान बाहिर रहने घोषणा टिम म्यानेजमेन्टले गरिसकेको छ। यस्तो अवस्थामा रोहित शर्मासँग आज भारतीय टिमको सुरुवात गर्न पहिलो पल्ट केएल राहुल क्रिजमा उत्रिदैछन्।
धवन र राहुलको जोडी भारतीय क्रिकेटको दोस्रो सफल प्रारम्भिक जोडी मानिन्छ। सचिन तेन्दुलकर र सौरभ गांगुली पछि भारतको सफल जोडी मानिने उनीहरूले ४ हजार ७ सय २६ रनको साझेदारी गरिसकेका छन्।
भारतीय ब्याट्सम्यानको सबैभन्दा ठूलो असफलता भनेको किवी टोलीको तीब्र बलरलाई सहज ढंगले खेल्न नसक्नु देखिएको छ। ट्रेन्ट बोल्टको बलिङलाई भारतीय ब्याट्सम्यानले सहज रुपमा खेल्न सकिरहेका छैनन्। त्यसैले आजको खेलमा न्युजिल्यान्डको ‘ट्रम्प कार्ड’ को रुपमा बोल्टलाई नै लिइएको छ।
न्युजिल्यान्ड अहिले ६ अंकसहित विश्व कपको शीर्ष स्थानमा छ। लगातार दुई खेल जितेको भारतका लागि न्युजिल्यान्डलाई जितेर माथि उक्लिने मौका पनि छ।
भारत र न्युजिल्यान्डबीच पछिल्लो १० खेलमा भारतले ७ मा जित सम्भव पारेको छ। उनीहरूले अहिलेसम्म १ सय ६ एकदिवसीय खेलेका छन्। जसमा भारत ५५ र न्युजिल्यान्डले ४५ खेल विजयी भएको छ।
विश्व कपमा भने न्युजिल्यान्डको प्रदर्शन राम्रो छ। विश्व कपमा यी दुई देशबीच भएको ७ खेलमध्ये न्युजिल्यान्ड ४ मा विजयी भएको छ। बाँकी ३ खेल भारतले जितेको छ।
ट्रेन्ट ब्रिजको क्रिज ब्याट्सम्यानका लागि सहयोगी मानिन्छ। सन् २०१८ मा इंग्ल्यान्डले अस्टेलियाविरुद्ध यही मैदानमा ४ सय ८१ रन बनाएको थियो।
न्युजिल्यान्डका मार्टिन गुप्टिल विश्व कपमा १ हजार रन पुरा गर्ने आफ्नो अभियानमा ९३ रनले पछि छन्। भारतविरूद्ध उनले यो कीर्तिमान पुरा गरेको खण्डमा उनी विश्व कपमा एक हजार रन पुरा गर्ने पूर्व कप्तान स्टेफन फ्लेमिङपछि दोस्रो किवी ब्याट्सम्यान बन्ने छन्।