विश्व कप क्रिकेटमा सबैभन्दा प्रतिक्षा गरिएको खेल आज, भारत र पाकिस्तान भिड्दै

तस्वीरः एजेन्सी

विश्व कप क्रिकेटमा सबैभन्दा बढी प्रतिक्षा गरिएको भारत–पाकिस्तानबीचको खेल आइतबार नेपाली समयअनुसार ३ बजेर १५ मिनेटदेखि सुरु हुँदैछ।

म्यानचेस्टरको ओल्ड ट्राफोडमा हुने यो खेल बर्षाका कारण प्रभावित हुने सम्भावना उत्तिकै छ। बेलायतको मौसम विभागले पनि आजको खेलमा ५० प्रतिशत पानी पर्ने सम्भावना रहेको बताइसकेको छ।

विश्व कपमा भारत अहिलेसम्म पाकिस्तानसँग पराजित भएको छैन्। भारत–पाकिस्तान विश्व कपमा ६ पल्ट भिडिसकेका छन् र सबै पल्ट भारत विजयी भएको छ।

यसपालि पाकिस्तानलाई भारतसँग बदला लिने अवसर पनि हो। दुई वर्षअघि आइसिसी ट्रफीको फाइनलमा भारतको यही टोलीलाई स्तब्ध पार्दै सरफराज अहमदको टिमले पाकिस्तानलाई उपाधि दिलाएको थियो।

भारतका लागि पनि आइसिसी ट्रफीमा भोगेको पराजयको बदला लिने अवसर छ। ओल्ड ट्राफोडको ‘बाउन्सी पीच’ लाई मध्यनजर गर्दै भारतले आज तीब्र बलर मोहम्मद सामीलाई टिममा स्थान दिने सम्भावना बलियो छ।

सामीले पाकिस्तानविरूद्ध उत्कृष्ट प्रदर्शन पनि गर्दै आइरहेका छन्। प्रारम्भिक ब्याट्सम्यान शिखर धवन चोटका कारण बाहिर छन्। त्यसैले उनको स्थानमा केएल राहुलले अर्का प्रारम्भिक ब्याट्सम्यान तथा उपकप्तान रोहित शर्मासँग ब्याटिङ गर्ने सम्भावना बलियो छ।

अस्ट्रेलियाविरूद्ध सतकीय इनिङ खेल्ने क्रममा शिखरको औलामा चोट लागेको थियो। उनको स्थानमा ऋषभ पन्त भारतबाट टोलीमा सहभागी हुन इंग्ल्यान्ड पुगेका थिए।

तर, १५ सदस्यीय टिममा उनको नाम पहिले नभएका कारण खेल्ने सम्भावना कम छ। अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले मन्जुरी दिएको खण्डमा मात्र उनी खेल्न पाउने छन्। तर, खेल अगाडि शनिवार नेट प्राक्टिसमा उनी पनि देखा परेका थिए।

भारतले चौथो नम्बरमा दिनेश कार्तिक र विजयशंकर मध्ये एक जनालाई खेलाउने सम्भावना बलियो छ। यस्तै बलिङमा कुलदीपको स्थानमा रवीन्द्र जडेजालाई खेलाउने सम्भावना पनि उत्तिकै छ।

भारतले विश्व कपमा गतिलो सुरुवात गरेको छ। उसले तीनमध्ये दुईमा जित र एक खेल वर्षाबाट प्रभावित भएको थियो। भारतले दक्षिण अफ्रिकालाई ६ विकेट र विश्व विजेता अस्ट्रेलिया जस्तो बलियो टिमलाई ३६ रनले हराएको छ।

पाकिस्तानले ४ मध्ये १ मा मात्र जित निकालेको छ। उसको १ खेल वर्षाका कारण प्रभावित भइसकेको छ। र, दुईमा पराजय भोगेको छ। पाकिस्तानले आयोजक इंग्ल्यान्डलाई १४ रनले पराजित गर्ने क्रममा विश्व कपमा आफ्नो दावेदारी प्रस्तुत गरेको थियो।

तर, यो टिम अस्ट्रेलियासँग ४१ र वेष्ट इन्डिजसँग ७ विकेटले पराजित भइसकेको छ।

पाकिस्तान र भारतले अहिलेसम्म १ सय ३१ एकदिवसीय खेलेका छन्। जसमा भारतले ७३ खेलमा जित सम्भव पारेको छ। पाकिस्तानले ५४ खेलमा जित निकालेको छ।

पाकिस्तानी टिममा आज सबैभन्दा बलियो हतियारको रुपमा तीब्र बलर मोहम्मद आमिर र वहाब रियाज रहेका छन्। यी दुबैलाई अन्तिम समय पाकिस्तानले टिममा स्थान दिएको थियो। दुबै यो विश्व कपमा उत्कृष्ट लयमा छन्। पाकिस्तानको जितको आधार यी दुई बलरको प्रदर्शनले निर्धारण गर्नेछ।

आमिरले अस्ट्रेलियाविरूद्ध पराजित खेलमा ५ विकेट लिएर आफू लयमा रहेको प्रमाणित गरेका थिए। वहाब रियाज भारतका लागि जहिले पनि टाउको दुखाई बन्दै आइरहेका छन्।

प्रकाशित मिति: : 2019-06-16 09:52:03

प्रतिकृया दिनुहोस्