सकिबको अर्को उत्कृष्ट इनिङ, वेष्ट इन्डिजमाथि बंगलादेशको पहिलो जित

Agency

सकिब–अल हसनको अर्को उत्कृष्ट सतकीय इनिङका कारण बंगलादेशले विश्व कपमा पहिलो पल्ट वेष्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको छ।

यसअघि विश्व कपको तीन वटा खेलमा क्यारेबियन टोलीबाट पराजय भोगेको बंगलादेशले ३ सय २२ रनको चुनौति ३ विकेटको क्षतिमा ४१ दशमलव ३ ओभर खेल्दै पुरा गर्यो।

५१ बल खेल्न बाँकी रहँदै वेष्ट इन्डिजलाई पराजित गरेको बंगलादेशका लागि सोमबारको खेलमा विश्व नम्बर एक अलराउन्डर सकिब–अल हसन हिरो सावित भए। उनले यो विश्व कपमा दोस्रो सतक पुरा गरे। सकिबले ९९ बलमा १६ चौकाको सहयोगले अविजित १ सय २४ रन बनाए।

उनले २ विकेट पनि लिएका थिए। खेलको ‘म्यान अफ दि म्याच’ उनलाई नै घोषित गरियो।

सकिबले एकदिवसीयमा ६ हजार रन पनि पुरा गरेका थिए।

सकिबले लिटोन दाससँग चौथो विकेटका लागि अविजित १ सय ८९ रनको साझेदारी गरेका थिए। पहिलो पल्ट मौका पाएका लिटोनले ६७ बलमा ४ छक्का र ७ चौकाको सहयोगले अविजित ९० रन बनाए।

बंगलादेशले १९ ओभरमा १ सय ३३ रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो। यस्तो अवस्थामा यी दुई ब्याट्सम्यानले खेललाई पकडमा राखेका थिए।

सोमबारको खेलमा वेष्ट इन्डिजको बलिङ खराब रह्यो। फिल्डिङ पनि खासै राम्रो देखिएन। बंगलादेशका प्रारम्भिक ब्याट्सम्यान तमिम इकबाल ४८ रनमा रन आउट भएका थिए। सौम्य सरकार २९ रनमा आन्द्रे रसेलको शिकार भए।

यसअघि पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिजले मध्यक्रममा शिमरोन हेटमायर र कप्तान जेसन होल्डरको बिस्फोटक ब्याटिङका कारण वेष्ट इन्डिजको योगफल ३ सय माथि पुर्याएको थियो।
साई होप ९६, इविन लुइस ७०, शिमरोन हेटमायरले ५० रन बनाएका थिए। हेटमायरले ३ छक्का र ४ चौकाको सहयोगले २६ बलमा अर्धसतक पुरा गरेका थिए।

कप्तान होल्डरले १५ बलमा २ छक्का र ४ चौकाको सहयोगले ३३ रन बनाए। पुछारमा डारेन ब्राभोले पनि १९ रन बनाए।

बंगलादेशका मुस्तफिजुर रहमान र मोहम्मद सैफुद्धिनले ३–३ विकेट लिएका थिए।

प्रकाशित मिति: : 2019-06-17 23:44:06

प्रतिकृया दिनुहोस्