पछिल्लो दुई खेल लगातार जितेर सेमिफाइनल प्रवेशको सम्भावनालाई यथावत राखेको पाकिस्तानले शनिवार विश्व कपको अर्को महत्वपूर्ण खेल छिमेकी अफगानिस्तानसँग खेल्दै छ।
अफगानिस्तान यसअघि नै विश्व कपबाट बाहिरिसकेको छ। उसले औपचारिकताको लागि मात्र बाँकी खेल खेलिरहेको छ। अफगानिस्तानले विश्व कपमा अहिलेसम्म एउटा पनि जित दर्ता गर्न सकेको छैन।
शनिवार लीड्स मैदानमा पाकिस्तान र अफगानिस्तान विश्व कपको ३७ औं खेलमा उत्रिँदैछन्। पाकिस्तानले खेल जितेको खण्डमा ८ खेलबाट ९ अंक जुटाउने छ।
विश्व कपभन्दा अगाडि २४ मेमा खेलिएको अभ्यास खेलमा अफगानिस्तानले ३ विकेटले पाकिस्तानलाई पराजित गर्दै सनसनी मच्चाएको थियो।
आजको खेलमा पुरानो परिणामलाई निरन्तरता दिएको खण्डमा पाकिस्तान प्रतियोगिताबाट बाहिरिने चौथो टिम बन्ने छ। यसअघि अफगानिस्तान, वेष्ट इन्डिज र दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिसकेका छन्।
एकदिवसीय क्रिकेटमा पाकिस्तान र अफगानिस्तानबीच ७ वटा खेल भएका छन्, जसमा ३ मा पाकिस्तान र ३ मा अफगानिस्तान विजयी भएको छ। एउटा खेल पानीका कारण रद्द भएको थियो।
विश्व कपमा यी टोली पहिलो पल्ट भिड्दै छन्। त्यसैले आजको खेललाई रोचक मानिएको छ।
लीड्स मैदान बलरहरूका लागि सहयोगी मानिन्छ। यहाँ रन पछ्याउने टिमले सबैभन्दा बढी खेल जितेका छन्। यस पीचमा भएको ४५ मध्ये २४ खेल रन पछ्याउने टिमले जितेको छ।
हाल पाकिस्तानका युवा ब्याट्सम्यान हारिस सोहेल उत्कृष्ट फर्ममा छन्। अनुभवी ब्याट्सम्यान सोएब मलिकलाई टिमबाट हटाइएपछि उनको स्थानमा पाकिस्तानी टोलीमा समावेश भएका हारिसले उत्कृष्ट ब्याटिङ गरेका छन्। उनले न्युजिल्यान्डविरूद्ध ६८ र दक्षिण अफ्रिकाविरूद्ध ८९ रन बनाउँदै चर्चामा आएका थिए।
उनीबाट आज पनि पाकिस्तानले ठूलो आशा राखेको छ। बलिङमा मोहम्मद आमिर निकै लयमा देखिन्छन्। उनले ६ खेलमा १६ विकेट लिइसकेका छन्। उनले प्रत्येक खेलमा पहिलो र अन्तिम स्पेलमा विकेट निकालेका छन्।
जारी विश्व कपमा पाकिस्तानको सबैभन्दा ठूलो कमजोरी इमाम–उल हक बनेका छन्। पाकिस्तानका प्रारम्भिक ब्याट्सम्यान इमाम उत्कृष्ट ब्याट्सम्यान हुँदा हुँदै पनि उनले खासै प्रदर्शन गर्न सकिरहेका छैनन्। उनले ६ खेलमा एउटा अर्धसतकको सहयोगले १ सय ६९ रन मात्र बनाएका छन्।
अफगानिस्तानको सबैभन्दा बलियो पक्ष भनेको उसको कप्तान गुलबदिन नइब हुन्। उनले अलराउन्डर प्रदर्शन गर्दै आइरहेका छन्। नइबले ७ खेलमा १ सय ७४ रन बनाउनुका साथै ९ विकेट लिएका छन्।
यस्तै, हसमतुल्लाह शाहिदीका लागि पनि यो विश्व कप विशेष बनेको छ। उनले प्रतियोगितामा दुई अर्धसतकको सहयोगले १ सय ९७ रन बनाएका छन्। टिमका स्टार स्पिनर राशिद खानका लागि जारी विश्व कप निरासाजनक सावित भएको छ। उनले ७ खेलमा ४ विकेट मात्र लिएका छन्। उनी टिमको सबैभन्दा महंगा बलर हुन्।
उनको प्रतिभाबाट सवै साक्षात्कार छन्। उनी फर्ममा फर्किएको खण्डमा पाकिस्तान अफ्ठेरोमा पर्ने कुरालाई नकार्न सकिन्न्।