गेलले आज लाराको कीर्तिमानलाई उछिन्लान्?

Agency

विश्व कपको सेमिफाइनल दौडबाट बाहिरिसकेका  वेष्ट इन्डिज र श्रीलंका सोमबार चेस्टर–ले स्ट्रीटमा आयोजना हुने राउन्ड रबिनको आठौं खेल खेल्दैछन्।

आजको खेलमा क्रिकेट समर्थकले कुनै खेलाडीलाई सबैभन्दा बढी पछ्याउने छन् भने ती वेष्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेल हुन्। उनी वेष्ट इन्डिजको क्रिकेट इतिहासमा एकदिवसीयमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको कीर्तिमान नजिक छन्। उनलाई यो कीर्तिमान राख्न ५४ रन मात्र आवश्यक छ।

वेष्ट इन्डिजका अर्का महान ब्याट्सम्यान ब्रायन लाराले २ सय ९९ एकदिवसीय खेल्ने क्रममा १० हजार ४ सय ५ रन बनाएर अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिएका थिए।

गेलले २ सय ९५ एकदिवसीयमा १० हजार ३ सय ५१ रन बनाएका छन्।

जारी विश्व कपमा वेष्ट इन्डिजका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि गेल नै हुन्। उनले ६ इनिङमा २ सय रन पुरा गरिसकेका छन्। यस विश्व कपमा वेष्ट इन्डिजको सबैभन्दा खराब प्रदर्शन प्रारम्भिक ब्याट्सम्यानले गरेका छन्। कुनै पनि प्रारम्भिक जोडीले राम्रो सुरुवात दिन सकेका छैनन्। त्यसैले गेलका लागि आजको खेल निकै महत्वपूर्ण छ। किनभने यसपछि उनीसँग लाराको कीर्तिमान भंग गर्न विश्व कपमा एउटा खेल मात्र बाँकी रहनेछ।

श्रीलंका र वेष्ट इन्डिज विश्व कपमा नवौं पल्ट भिड्न लागेका हुन्। वेष्ट इन्डिजले ४ पल्ट श्रीलंकालाई हराएको छ। यस्तै, श्रीलंकाले पनि ३ पल्ट वेष्ट इन्डिजलाई पराजित गरेको थियो। एउटा खेल रद्द भएको थियो।

श्रीलंका ७ खेलमा ६ अंक बटुलेर अंक तालिकाको सातौं स्थानमा छ। यस्तै, वेष्ट इन्डिजले ७ खेलमा १ खेल मात्र जितेको छ र अंक तालिकाको नवौं स्थानमा छ।
दुवै टिम एकदिवसीयमा ५६ पल्ट भिडेका छन्। जसमा वेष्ट इन्डिज २८ र श्रीलंका २५ पल्ट विजयी भएको छ। ३ खेलको नतिजा निस्किएको थिएन।

प्रकाशित मिति: : 2019-07-01 11:34:33

प्रतिकृया दिनुहोस्