विश्वकप यू-२० फुटबलमा कीर्तिमान, नर्वेका हलान्डद्वारा एकै खेलमा तेहोरो ह्याट्रिक

तस्बिरः एजेन्सी

पोल्याण्डमा जारी फिफा यू-२० विश्वकप फुटबलमा नर्वेका एर्लिङ हलान्डले नयाँ कीर्तिमान रचेका छन्।

समूह सी अन्तर्गत गए राति भएको खेलमा नर्वेले होण्डुरोसमाथि १२-० को फराकिलो जित निकाल्ने क्रममा हलान्ड एक्लैले ९ गोल गरेका छन्।

यो सँगै हलान्ड विश्वकपको एकै खेलमा तेहोरो ह्याट्रिक गर्ने विश्वको पहिलो खेलाडी बनेका छन्।

यसअघि सन् १९९७ को यू-२० विश्वकपमा ब्राजिलका एडाइल्टनले ६ गोल गर्दै एकै खेलमा दोहोरो ह्याट्रिक गर्ने कीर्तिमान बनाएका थिए।

पोल्याण्डको लब्लिन स्टेडियममा हलान्डले खेलको ७औं, २०औं, ३६औं, ४३औं, ५०औं , ६७औं, ७७औं,८०औं र ९०औं मिनेटमा गोल गर्दै तेहोरो ह्याट्रिक पूरा गरेका हुन्।

योसँगै खेलमा एकै खेलमा एक खेलाडीले धेरै गोल गर्ने र फराकिलो अन्तरको जितको कीर्तिमान समेत बनेको छ।

समूहमा अघिल्ला दुई खेलमा पराजित नर्वेका लागि यो पहिलो जित हो। यो समूहबाट उरूग्वे र न्यूजिल्याण्ड पहिलो र दोस्रो हुँदै दोस्रो चरणमा प्रवेश गरिसकेका छन्।

अब समूहमा तेस्रो हुनेमध्येबाट उत्कृष्ट भएर अघिल्लो चरणमा प्रवेश गर्न नर्वेले बाँकी खेलको नतिजा कुर्नुपर्नेछ।

२४ राष्ट्र सहभागी विश्वकपमा प्रत्येक समूहको शीर्ष दुईमा रहने टोली सिधै प्रिक्वाटरफाइनल पुग्नेछन्। ६ वटै समूहमा तेस्रो हुनेमध्ये उत्कृष्ट चार टोली पनि अन्तिम १६ मा पुग्नेछन्। खेल १५ जुनसम्म चल्नेछ।

प्रकाशित मिति: : 2019-05-31 09:21:23

प्रतिकृया दिनुहोस्