इंग्ल्यान्डलाई हराउँदै नेदरल्यान्ड नेसन्स लिगको फाइनलमा

तस्बिरः एजेन्सी

उपाधिका दावेदारको रूपमामा हेरिएको इंग्ल्यान्डलाई हराउँदै नेदरल्यान्ड युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

पोर्चुगलमा बिहीबार राति भएको खेलमा नेदरल्यान्डले अतिरिक्त समयमा  इंग्ल्यान्डलाई ३–१ ले हराउँदै उपाधि नजिक पुगेको हो।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

अतिरित्त समयमा नेदरल्यान्डले थप दुई गोल गर्दै फाइनल यात्रा तय गर्‍यो।

खेलको ३२औं मिनेटमा इंग्ल्यान्डले मार्कुस रोसफोर्डको पेनाल्टी गोलबाट अग्रता बनाएको थियो। पहिलो हाफसम्म १-० ले पछि रहेको नेदरल्यान्डले खेलको ७३औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो।

उसका लागि म्याथ्थिज डि लिटले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि दुबै टोलीले गोल गर्न सकेनन र खेल निर्धारित समयसम्म १–१ गोलको बराबरीमा सकियो।

थप समयको ९७औं मिनेटमा केल वाल्करले गोल गर्दै नेदरल्यान्डलाई २–१ ले अघि बढाए।

११४ औं मिनेटमा क्वीन्सी प्रोमेसले गोल गर्दै नेदरल्यान्डलाई ३–१ को जित दिलाउँदै फाइनल यात्रा तय गराए।

यो जितसँगै अब नेदरल्याण्डले उपाधिका लागि घरेलु टोली पोर्चुगलसँग खेल्नेछ।

यसअघि पोर्चुगलले बुधबार स्वीट्जरल्यान्डलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनल १० जुनमा हुनेछ ।

 

प्रकाशित मिति: : 2019-06-07 10:57:26

प्रतिकृया दिनुहोस्