स्वीडेनलाई हराउँदै युरो छनोटमा स्पेनको शतप्रतिशत जित

तस्बिरः एजेन्सी

युरोकपको प्रमुख दाबेदार स्पेनले छनोटमा शतप्रतिशत नतिजा निकालेको छ। सोमबार राति स्वीडेनलाई ३–० ले हराउँदै स्पेनले शतप्रतिशत नतिजा निकालेको हो।

यो जितसँगै अपराजित रहेको स्पेनको समूह ‘एफ’ मा ४ खेलबाट १२ अंक पुगेको छ। छनोटमा पहिलो हार बेहोरेको स्वीडेन ७ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ ।

स्पेनको सहज जितमा कप्तान सर्जियो रामोस, अल्भेरो मोराटा र मिकेल ओएरजवालले गोल गरे।

प्रतिस्पर्धात्मक बनेको खेलको सबै ३ गोल दोस्रो हाफमा सम्भव भएको थियो। सान्टियागो बर्नबेउमा लगातार स्वीडेनलाई दवावमा राखेको स्पेनले गोलको लागि पेनाल्टीको साहरा लिनुपरेको थियो ।

खेलको ६४औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दै स्पेनलाई सुरूवाती अग्रता दिलाए।

खेलको ८५औं मिनेटमा वैकल्पिक खेलाडी मोराटाले गोल गर्दै स्पेनको अग्रता दोब्बर पारे।

खेलको ८७औं मिनेटमा अर्का वैकल्पिक खेलाडी मिकेलले गोल गर्दै स्पेनलाई ३–० को सहज जित दिलाए ।

यही समूहको अर्को खेलमा रोमानियाले माल्टालाई ४–० को फराकिलो जित निकाल्यो। जितसँगै रोमानियाको ४ खेलबाट ७ अंक पुगेको छ । माल्टा ३ अंकसहति पाँचौ स्थानमा छ ।

अर्को खेलमा नर्वेले फारोअ आइल्यान्डलाई २–० ले हरायो। जितसँगै नर्वे ५ अंक जोडेर चौथो तथा आइल्यान्ड अंकविहीन हुदै पुछारमा छ।

प्रकाशित मिति: : 2019-06-11 09:49:37

प्रतिकृया दिनुहोस्