फिफा वरियतामा चार स्थान खस्कियो नेपाल

तस्बिरः एजेन्सी

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को पछिल्लो वरियतामा नेपाल चार स्थान तल झरेको छ।

शुक्रबार जारी गरिएको नयाँ वरियतामा नेपाल चार स्थान तल झर्दै १६५ औं स्थानमा पुगेको हो। यसअघि नेपाल १६१औं स्थानमा थियो।

समग्रमा चार स्थान तल झरेको नेपाल दक्षिण एसियामा भने तेस्रो स्थानमा कायमै छ। दक्षिण एसियामा भारत सबैभन्दा माथि १०१ औं स्थानमा छ। यस्तै माल्दिभ्स १५१औं स्थानमा छन्। दुबै टोली अघिल्लो महिनाको वरियतामा यथास्थानमा रहेका हुन्।

यस्तै नेपालभन्दा पछि रहेका बंगलादेशले आफूलाई ५ स्थान सुधार गर्दै १८३ औं, भुटान १८६औं, श्रीलंकाले १ स्थान सुधार गर्दै २०१औं र पाकिस्तान २०५औं स्थानमा छन्।

एसियाली वरियताको शीर्ष स्थानमा रहेको इरान २०औं स्थानमा पुग्दा जापान २८ तथा दक्षिण कोरिया ३७औं स्थानमा छन्।

विश्व वरीयतामा भने बेल्जियम शीर्ष स्थानमा यथावत छ। यस्तै फ्रान्स दोस्रो, ब्राजिल तेस्रो र इंग्ल्याण्ड चौथो स्थानमा यथावत छन्।

केही दिनअघि मात्र युइएफए नेशन्स लिग उपाधि जितेको पोर्चुगल दुई स्थान सुधार गर्दै पाँचौ स्थानमा उक्लिएको छ।

एक स्थान तल झरेको क्रोएसिया छैटौं स्थानमा छ। यस्तै दुई स्थान नै फड्को मारेको स्पेन सातौं स्थानमा आइपुगेको छ।

दुई स्थान तल झरेको उरुग्वे आठौं, एक स्थान तल झरेको स्वीट्जरल्याण्ड नवौं स्थानमा छ भने डेनमार्क दशौँ स्थानमा यथावत छ। दुई स्थान सुधार गरेको जर्मनी र अर्जेन्टिना समान ११ औं स्थानमा छन्।

प्रकाशित मिति: : 2019-06-14 15:09:00

प्रतिकृया दिनुहोस्