कोपा अमेरिकामा ब्राजिलको सहज जित, कौटिन्होको २ गोल

तस्बिरः एजेन्सी

घरेलु टोली ब्राजिलले कोपा अमेरिका २०१९ मा विजयी सुरूवात गरेको छ।

शनिबार बिहान भएको उद्घाटन खेलमा घरेलु टोली ब्राजिलले बोलिभियामाथि ३-० को सहज जित निकालेको हो।

खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुवै टोलीले गोल गर्न सकेनन्।

दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको ब्राजिलले ३-० को एकतर्फी जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट सुरूवात गर्‍यो।

ब्राजिलको जितमा फिलिप कौटिन्होले २ गोल गर्दा विंगर एभरटनले १ गोल थपे।

ब्राजिलका लागि खेलको ५० औं मिनेटमा फिलिपे कोउटिन्होले पेनाल्टीमा गोल गर्दै सुरूवाती अग्रता दिलाए। बोलिभियाका डिफेन्डरले ह्यान्ड गरेपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहयोगमा निर्णय लिएका थिए।

त्यसको तीन मिनेटपछि नै कोउटिन्होले गोल गर्दै अग्रता दोब्बर पारे। उनले रोबर्टो फिर्मिनोको क्रसमा हेडरमार्फत गोल गरेका थिए।

यस्तै खेलको ८५ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका विंगर एभरटनले गोल गर्दै सहज जित पक्का गरे।

यस जितसँगै ब्राजिलले प्रतियोगितामा विजयी सुरूवात गर्दै ३ अंक जोड्न सफल भयो।

ब्राजिलको समूहमा बोलिभियासँगै पेरु र भेनेजुएला रहेका छन्।

प्रकाशित मिति: : 2019-06-15 09:28:07

प्रतिकृया दिनुहोस्