कास्कीका तीन वटा मतदान केन्द्रमा बम विस्फोट

बिएल

कास्कीमा प्रतिनिधिसभा सदस्यको लागि भइरहेको मतदान अन्तर्गत तीन वटा केन्द्र नजिकै बम विस्फोट भएको छ ।

प्रहरीका अनुसार पोखरा ३३ को सरस्वती मावि मतदान केन्द्र, पोखरा ९ नयाँ बजारको नवप्रभात मावि मतदान केन्द्र र पोखरा १६ को अर्मलामा बम विस्फोट भएको हो।
पोखरा ९ को मतदान केन्द्रमा झण्डै २० मिनेट मतदान समेत स्थगित भएको थियो ।

बम विस्फोट भएपछि मतदाताहरू भागाभाग भएको थियो ।

बम विष्फोट भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। बम बिष्फोट भएको स्थानमा पनि अहिले भने मतदान शान्तिपूर्ण रुपमा चलिरहेको छ। मतदान केन्द्रमा मतदाताको भीड बढ्ने क्रम बढेको छ।

विहान ७ बजेदेखि शुरु भएको मतदान हुने क्षेत्रभरी सवारी साधन आवत– जावतमा रोक लगाइएको छ ।

गएको बुधबार नेकपाको चुनावी सभामा हुँदै गर्दा पोखराको प्रदर्शनी केन्द्रमा बम विस्फोट भएको थियो । त्यसको अघिल्लो दिन पोखरा १७ मा वडा अध्यक्षको गाडीमा पनि बम विस्फोट गराइएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले सबै मतदान स्थलमा कडा सुरक्षा ब्यवस्था गरिएको जानकारी दिए । कास्कीमा प्रतिनिधी सभा सदस्यको लागि नेकपाबाट विद्या भट्टराई, नेपाली कांग्रेसबाट खेमराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, संघीय समाजवादी पार्टीबाट धर्मराज गुरुङ, साझा पार्टीबाट रजनी केसी, विवेकशील नेपाली दलबाट जमुना शर्मा उम्मेदवार छन् ।

त्यस्तै नेकपा मालेका टेकनाथ भण्डारी, नेपाली कांग्रेस (बिपी)बाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट पूर्णबहादुर राना, देशभक्त समाजका तर्फबाट वीरबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका गंगा मल्ल, मंगोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङले उम्मेदवारी दिएका छन्।

कास्कीमा पोखरा महानगरपालिकाका ११ वटा वडाका मतदाताले भोट खसाल्नेछन । यहाँ ७१ ह्जार ८ सय ७१ मतदाता छन ।

प्रकाशित मिति: : 2019-11-30 10:24:22

प्रतिकृया दिनुहोस्