च्याम्पियन्स लिग: उपाधिको दाबेदार बार्सिलोनाले डर्टमुण्डसँग खेल्दै, घाइते मेस्सी मैदान फर्किने

तस्बिरः एजेन्सी

च्याम्पियन्स लिगअन्तर्गत आज (मंगलबार) उपाधिको दाबेदार मानिएको टोली बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग खेल्दैछ । नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुने उक्त खेल डर्टमुण्डै घरेलु मैदानमा हुनेछ ।

आजको खेलबाट बार्सिलोनाका लियोनल मेस्सी मैदानमा फर्किनेछन् । अर्का स्टार स्वारेज भने अघिल्लो खेलबाट नै मैदान फर्किसकेका छन् । मेस्सी केही समयअघिबाट नै घाइते अवस्थामा थिए । यस खेलमा बार्सिलोनाका स्टार ओसमान डेम्बेले र सामुअल उम्टिटी भने टोलीमा हुनेछैनन् ।

बार्सिलोना र डर्टमुण्ड समूह ‘एफ’का टोली हुन् । यस समूहमा बार्सिलोना र डर्टमुण्डबाहेक इन्टर मिलान र स्लाभिया प्रहा पनि रहेका छन् । स्लाभिया प्रहार इन्टरले पनि आजै अर्को खेल खेल्दैछन् ।

बार्सिलोना र डर्टमुण्डबाहेक आज अन्य ७ खेलहरू हुँदैछन् । आजको खेलमा साबिकको विजेता लिभरपुलका चेल्सी, नापोली, इन्टर मिलान, आयाक्सजस्ता बलिया टोली पनि प्रतिस्पर्धामा छन् । आजको पहिलो खेलमा इटालियन क्लब इन्टर मिलानले स्लाभिया प्रहासँग खेल्नेछ भने दोस्रो खेलमा फ्रेन्च क्लब लियोन र रसियन क्लब जेनिटले खेल्नेछन् ।

यस्तै,तेस्रो खेलमा इंग्लिस टोली चेल्सी र स्पेनिस क्लब भ्यालेन्सिया भिड्दा चौथो खेलमा रेडबुल र जेन्कले खेल्नेछन् । पाँचौं खेलमा लिभरपुल र इटालियन क्लब नापोलीले खेल्दा छैटौं खेलमा डच क्लब आयाक्स र फ्रेन्च क्लब एलओएससी भिड्नेछन् । सातौं खेलमा पोर्चुगिज क्लब बेन्फिका र जर्मन क्लब आरबी लेइपीचले खेल्नेछन् ।

प्रकाशित मिति: : 2019-09-17 18:07:16

प्रतिकृया दिनुहोस्