मेक्सिकोमाग्यास पाइपलाइन विस्फोट, मृत्यु हुनेको संख्या ९३ पुग्यो

Photo by: EPA

मेक्सिको सिटी, ९ माघ (सिन्ह्वा) – ग्यास पाइप विस्फोटबाट मेक्सिकोमा मृत्यु हुनेहरुको संख्या मङ्गलबारसम्म ९३ पुगेको छ ।

मेक्सिकोको हिडाल्गो राज्यमा गत शनिबार भएको विस्फोटमा परी उनीहरुको मृत्यु भएको स्वास्थ्यमन्त्री जर्ज अल्कोसरले जानकारी दिएका छन। पाइप विस्फोटनका कारण जलेर सख्त घाइते भएकामध्ये मृत्यु हुनेहरुको संख्या बढ्दै गएको उनले बताएका छन। 

राष्ट्रपति अन्ड्रेस म्यानुअल लोपेज अब्राडोरसमेत सहभागी भएको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री अल्कोसरले अरु ४६ जना अझै पनि अस्पतालमै रहेको जानकारी दिएका हुन। उनले अस्पतालमा उपचार भइरहेकामध्ये थप एक जनाको अवस्था चिन्ताजनक रहेको समेत बताएका छन। 

स्थानीय समय अनुसार शुक्रबार बेलुका ७ः०० बजे ट्लाहुलिपान नगरको सान प्रिमिटिभो क्षेत्रमा एउटा पाइपलाइन देखिएपछि त्यसैलाई छेडेर तेल जम्मा गर्ने क्रममा विस्फोटन भएको थियो । तेल केही मिटर माथिसम्म हावामा फोहराका रूपमा पाइपबाट बाहिर निस्किएको र यसैबाट तेल जम्मा गर्न भिड लागेको समयमा आगलागी हुँदा पाइपलाइन विस्फोट भएको बताइएको छ ।

अनुमतिविना नै पाइपलाई खोपेर स्थानीयले तेल जम्मा गर्ने लोभ गर्दा उक्त दुर्घटना भएको राज्य सञ्चालित पेट्रोल कम्पनीले जनाएको छ । मेक्सिकोमा यसअघि सन् २०१० मा भएको यस्तै विस्फोटनमा परी ३० जनाको ज्यान गएको थियो भने ५२ जना घाइते भएका थिए ।

 

प्रकाशित मिति: : 2019-01-25 02:25:20

प्रतिकृया दिनुहोस्