अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संकटकालको घोषणा

PHOTO BY: AP

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गरेका छन।

देशमा संकट वा आपत् आएको अवस्थामा लगाइने यो संकटकाल अहिले लगाइएको बारेमा हाल अमेरिकामा चर्चाको विषय भएको छ। राष्ट्रिय संकटकाल घोषणा गर्दै सीमामा पर्खाल बनाउन ट्रम्पले बजेट माग गरेका छन।

अमेरिकामा राष्ट्रिय संकटकालसम्बन्धी ऐन गम्भीर राष्ट्रिय संकट नियन्त्रणको लागि मात्र रहेको जानकारको भनाइ छ। राष्ट्रपति ट्रम्पले हाल देशको दक्षिणी सीमानामा आप्रवासी संकट आइपरेको बताउँदै आएका छन तर उनको भनाइलाई आप्रवासीसम्बन्धी विज्ञले अस्वीकार गर्दै आएका छन्।

अन्य देशको तुलनामा अमेरिकामा सबभन्दा ठूलो सङ्ख्यामा गैरकानूनीरुपमा आप्रवासीको प्रवेश हुने गरेको छ। वैध प्रवेशाज्ञा वा भिसाको म्याद सकिएपछि पनि लुकेर त्यही बसिरहेका पाइन्छ। मेक्सिको सीमा क्षेत्रमा पर्खाल लगाउने र आप्रवासी समस्यालाई नियन्त्रणमा ल्याउने ट्रम्पको चुनावी नारा रहेको थियो।

सन् २०१६ को अमेरिकी राष्ट्रपतिको चुनावी नारा पूरा गर्न ट्रम्पले हरेकतर्फबाट कोशिस गरेका थिए। यी कोशिसहरु असफल भएपछि राष्ट्रिय संकटकालको घोषणा गरेका हुन।

यस घोषणासँगै ट्रम्पलाई विशेष शक्ति प्राप्त हुनेछ र त्यसले उहाँलाई सामान्य राजनीतिक प्रक्रिया छलेर विद्यमान सैन्य वा विपद राहतका बजेटलाई सीमानामा पर्खाल बनाउनका लागि छुट्याउन सक्ने छन।  इतिहासलाई पल्टाएर हेर्दा विगतका अमेरिकी राष्ट्रपतिले संकटकालको प्रयोग विदेश मामिलासम्बन्धि समस्याको लागि मात्र गरेको पाइन्छ।

हाल राष्ट्रपति ट्रम्पले देशभित्रै राजनीतिकरूपमा विवादग्रस्त मुद्दामा विपक्षीको बहुमत वास्ता नै नगरी सीमा सुरक्षाका लागि भन्दै यो शक्ति प्रयोग गर्न खोजेको देखिन्छ। हाल अमेरिकामा शक्तिको दुरुप्रयोग भएको विपक्षीले आरोप लगाएका छन्।

ट्रम्पले हालैको अमेरिकी खर्चबन्दी दोहोरिन सक्ने सम्भावनालाई रोक्ने मनसायले खर्च विधयेकसहितको एक योजनामा हस्ताक्षर गरेका थिए।

अमेरिकी संसद् कङ्ग्रेसले उक्त विधयेकमा पर्खाल निर्माणको खर्च नबेहोर्ने अडान लिएपछि ट्रम्पले संकटकाल लगाएर अन्यत्रबाट बजेटको बस्दोबस्त गर्ने कदम चालेका हुन। राष्ट्रपति ट्रम्पको हालको कदमलाई अदालतमा चुनौति दिने डेमोक्र्याटहरुले बताएका छन् ।

संकटकालीन अवस्थाले सीमा पर्खालका लागि आठ अर्ब डलर प्रदान गर्ने ट्रम्पले घोषणा गरेका छन। अति आवश्यक खर्च सैन्य निर्माण, लागुऔषध तस्करी नियन्त्रणका लागि छुट्याइएको बजेटबाट काटेर पर्खाल निर्माणमा लगाइनेछ।

प्रकाशित मिति: : 2019-02-16 22:24:41

प्रतिकृया दिनुहोस्