आँधी प्रभावित क्षेत्रमा राष्ट्रपति ट्रम्पको निरीक्षण

आँधी प्रभावित क्षेत्रमा राष्ट्रपति ट्रम्प। तस्बिरः एपी

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको आँधी प्रभावित अलाबामा राज्यको स्थलगत निरीक्षण गरेका छन्। गत आइतबार आएको शक्तिशाली आँधीले अलाबामा राज्यको ग्रामीण क्षेत्रमा जनधनको ठूलो क्षति भएको थियो।

आँधीले ग्रामीण क्षेत्रका घरहरु भत्काएको, रुखहरु ढालेको तथा दुई दर्जनजति स्थानीयबासीको मृत्यु भएको थियो।

आँधीबाट खासगरी बेउरगार्ड इलाका सर्वाधिक प्रभावित भएको छ । उक्त इलाकामा कुनै पनि घर दुरुस्त अवस्थामा छैनन् भने घरभित्रका सामान जताततै छरपस्ट देखिएका छन् ।

राष्ट्रपति ट्रम्पले आँधीले पुर्‍याएको क्षति अविश्वसनीय रहेको बताए। राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्पले पीडितहरु, उनीहरुका परिवार र स्वयंसेवीसँग भेट गरेका थिए।

आँधीबाट २३ जनाको मृत्यु भएको थियो जसमा चार जना बालबालिका र दुई जना ८० वर्षको हाराहारीका वृद्ध थिए ।

राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानीयाले उक्त क्षेत्रमा हेलिकप्टरबाट पनि निरीक्षण गरेका थिए। उनीहरूले चर्चमा पुगी त्यहाँ सञ्चालित विपद उद्धार केन्द्रमा आश्रय लिइरहेका मानिसहरुसँग भेटघाट गरेका थिए।

प्रकाशित मिति: : 2019-03-09 15:45:13

प्रतिकृया दिनुहोस्