कास्की २ मा विद्याको जित, साझा पार्टीको जमानत जफत

फाइल तस्बिर: बिएल

कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार भट्टराई विजयी भएकी छन्। यसअघि जितमा ह्याट्रिक गरेका तत्कालीन एमाले सांसद एवं मन्त्री रवीन्द्र अधिकारीकी पत्नी भट्टराईले उपनिर्वाचनमा विजय हासिल गरेकी हुन्।

भट्टराईका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार खेमराज पौडेलभन्दा आठ हजार ४०९ मतान्तरले भट्टराई विजयी भएकी हुन्। भट्टराईले २४ हजार ३९५ मत ल्याएकी छन्। त्यसैगरी कांग्रेस उम्मेदवार पौडेलले १५ हजार ९८६ मत ल्याएका छन्।

विभिन्न दलका १० र स्वतन्त्र ११ गरी २१ उम्मेदवार चुनावी मैदानमा थिए। विजयी र मुख्य प्रतिस्पर्धीबाहेक अन्य उम्मेदवारको जमानत जफत भएको छ।

तेस्रो स्थानमा समाजवादीका धर्मराज गुरुङले १ हजार ९ सय २२ मत प्राप्त गरे। चौथो स्थानमा राप्रपा नेपालका रोमबहादुर भण्डारीले १ हजार १ सय ५३ मत ल्याए। वैकल्पिक राजनीतिको वकालत गर्दै आएको साझा पार्टीकी उम्मेदवार रजनी केसी ९ सय ४२ मतसहित पाँचौं भइन्।

यो निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता थिए। तर, शनिबारको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत मात्र खसेको थियो। ६ सय मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यो क्षेत्रमा पोखरा महानगरपालिकाका ११ वडा छन्। स्थानीय निर्वाचनमा अधिकांश वडामा नेकपाले जित हासिल गरेको थियो। वडा नम्बर ४, ९ र ११ मा भने कांग्रेस उम्मेदवारले जितेका थिए। उपनिर्वाचनमा नेकपाले नौ वडामा अग्रता लियो। कांग्रेसको पकड मानिएको वडा नम्बर ९ मा नेकपाले ३ सय मतले अग्रता कायम ग¥यो। वडा नम्बर ११ र ४ मा मात्र कांग्रेसले अग्रता लियो।

मन्त्री अधिकारीको गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो। अधिकारीले २०७४ को निर्वाचनमा कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४२ मतान्तरले पराजित गरेका थिए।

प्रकाशित मिति: : 2019-12-01 22:06:28

प्रतिकृया दिनुहोस्