स्वीट्जरल्याण्डमा उपचार गरिरहेका अल्जेरियाका रोगी राष्ट्रपतिविरूद्ध जनता सडकमा

तस्बिरः अफ्रिका न्यूज

रोगी र अशक्त राष्ट्रपतिको राजीनामा माग्दै उत्तर अफ्रिकी मुलुक अल्जेरियामा विगत दुई सातादेखि आन्दोलन भइरहेको छ।

गोप्य रूपमा स्वीट्जरल्याण्डको जेनेभास्थित एक अस्पतालमा उपचार गराउन आएका राष्ट्रपति अब्देलाजिज बाउटफिल्‌विरुद्ध फ्रान्स र स्वीटजरल्याण्डका अल्जेरियन नागरिकले जुलुस निकालेका छन्।

फ्रान्सको अधिनमा धेरै वर्ष रहेको अल्जेरियनहरु ठूलो संख्यामा फ्रान्स, स्वीस र बेल्जियममा छन्।

आगामी अप्रिलमा हुने राष्ट्रपतीय चुनावमा ८२ वर्षीय रोगी राष्ट्रपति बाउटफिल्का उम्मेदवार छन्। ब्यापारी रासिद नेक्काजले उनलाई चुनौति दिएका छन्। पाँच वर्ष अगाडि मष्तिष्कमा रक्तश्राव भएर गम्भीर बिरामी भएदेखि उनी सार्वजनिक रुपमा देखिएका छैनन्।

यो पनि पढ्नुहोस्

उनका भाइ र सेना प्रमुखले सत्ता चलाउँदै आएका छन्। सेनाको प्रयोग गर्दै फर्जी मत खसालेर उनलाई जिताउने षडयन्त्र गरिएको भन्दै अन्तर्राष्ट्रियस्तरमा अल्जेरियाली सेनाको आलोचना भइरहेको छ ।

लामो समय मुस्लिम आतंकवादीसँग लडेर शान्ति प्रकृयामा आएको अल्जेरिया यसअघि स्वतन्त्र हुन फ्रान्ससँग पनि लामो हिंसात्मक झडपबाट गुज्रिएको थियो।

मुस्लिम आतंकवादी सशस्त्र संगठन विरुद्ध सेनाको तिब्र दमनले गर्दा अहिले पनि सत्तामा सेनाको प्रभाव रहने गरेको छ। त्यसैले मष्तिष्कको उपचार गराइरहेका नाम मात्रका राष्ट्रपतिको फोटाकै भरमा सेनाले देश चलाउन सफल भएको छ ।

जेनेभा अस्पतालमा तनावः अल्जेरियाका प्रतिपक्ष नेता पक्राउ

गोप्य रुपमा जेनेभा उपचार गर्न आएका बिरामी राष्ट्रपति जेनेभा युनिभर्सिटी अस्पतालको आठौं तलाको अति भिआइपी कक्षमा उपचार गराइरहेका छन् भन्ने कुरा बाहिरिएपछि युरोपभरीका हजारौं अल्जेरियनहरु आ-आफ्ना ठाउँमा नाराजुलुस गर्न थाले। पाँच सय आसपासको जुलुसको नेतृत्व गर्दै आगामी चुनावका उम्मेदवार प्रतिपक्ष नेता रासिद नेक्काज अस्पतालको गेटका पुगे। तर, स्वीस प्रहरीले उनलाई जान दिएनन्।

नाराबाजी र धरपकड बीच अस्पताल भित्र जान खोजेका नेक्काजलाई प्रहरीले गिरफ्तार गरेर मुद्दा चलाएको छ।

स्वीस कानून अनुसार कसैको पनि उपचार गर्न पाउने हकलाई सुरक्षित गर्नु हाम्रो दायित्व हो भन्दै जेनेभा प्रहरी प्रमुखले जबरजस्ती गर्न खोज्ने बिरुद्ध स्वीस कानून अनुसार दण्डित गरिने बताएका छन् ।

रोयटर्स र एएफपीका पत्रकारलाई समेत राष्ट्रपति कता छन् थाहा भएन

अल्जेरियाका दिनहुँ लाखौँको संख्यामा जुलुस भइरहेका छन्। राष्ट्रपति मरे कि ज्यूँदा छन् भन्ने खबर दिने होडमा जेनेभाको अस्पताल, एयरपोर्टमा सामान्य पहिरनमा छ्याप्छ्याप्ती विभिन्न एजेन्सीका पत्रकारहरु घुमिरहेका थिए। राष्ट्रपतिको एउटा तस्वीर मात्रै लिन पाए त्यसको महत्व हुने ठानेर प्रयासरत पत्रकारहरुलाई समेत झुक्याएर जेनेभा प्रहरीले राष्ट्रपतिलाई एयरपोर्टमा पुर्‍यायो र जहाज चढाइदियो। पत्रकारहरुले जहाजको तस्वीर लिए तर राष्ट्रपतिको नाकमुख देख्न पाएनन्।

अल्जेरियाको सरकारले नियमित स्वास्थ्य परीक्षण गरेर राष्ट्रपति अल्जियर्स आइपुगेको सूचना निकालिसकेको छ। राष्ट्रपतिको पुरानै भिडियो देखाएर राष्ट्रपतिको स्वास्थ्य चिन्ता गर्नुपर्ने खालको नरहेको बताएको हो।

तीस वर्ष मुनिका युवाहरुको संख्या निकै ठूलो रहेको अल्जेरियामा युवाहरुले रोजगारी नपाएको, उच्च शिक्षा राम्रो नभएको जस्ता आरोपहरु लगाउँदै रोगी र अशक्तहरुलाई राज्यको जिम्मा दिन नहुने माग राख्दै सडकमा नाराबाजी गरिरहेका छन्।

उता सेना भने रोगी राष्ट्रपतिलाई नै निरन्तर जिताउने प्रयासमा लागेको छ। बिश्लेषकका अनुसार सुशुप्त अवस्थामा रहेका इस्लामिक आतंकवादी संगठनहरु सक्रिय भएमा लडाइँ चर्किने सम्भावना भए सेना अझै सक्रिय हुने खतरा छ।

प्रकाशित मिति: : 2019-03-12 00:43:36

प्रतिकृया दिनुहोस्