लिवियाली पूर्वप्रधानमन्त्री मौमदी जेलमुक्त

तस्बिरः एजेन्सी

त्रिपोली, लिविया । लिवियामा लामो समयसम्म राष्ट्रपति बनी सन् २०११ मा जनआन्दोलनको बलमा अपदस्थ शासक मोहमर गद्दाफी युगका अन्तिम प्रधानमन्त्री बग्दादी अल–मोहमौदीलाई स्वास्थ्यको कारण जेलमुक्त गरिएको अधिकारीले जनाएका छन् ।

मौमदीसहित आठ जनालाई लिवियाली जनताको आन्दोलनमा अन्धाधुन्ध बल प्रयोग गरी सयौँ नागरिकको ज्यान लिएको आरोपमा मृत्युदण्डको सजायँ तोकिएको थियो । उनी चार बर्षदेखि लिवियाली जेलमा रहँदै आएका थिए।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को समर्थन पाएको लिवियाली राज्य विद्रोहका समय मौमदीले गद्दाफीको विश्वासपात्रका रूपमा सरकारको नेतृत्व गरेका थिए।

सत्तरी बर्ष पार गरिसकेका पूर्व प्रधानमन्त्री मौमदी, गद्दाफीका छोरा सैयफ अल–इस्लामसहित तत्कालिन आठ नेतालाई सन् २०१४ मा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

मौमदीलाई चिकित्सा आयोगको सिफारिस अनुसार ‘स्वास्थ्यको कारण’ रिहा गरिएको छ । उनले विशेष स्वास्थ्य केन्द्रहरूमा स्वतन्त्र रूपमा उपचार गर्न सक्नेछन्।

उनलाई के रोग लागेको र कहाँबाट रिहा गरिएको भन्नेबारे थप विवरण दिइएको छैन। 

प्रकाशित मिति: : 2019-07-20 23:35:29

प्रतिकृया दिनुहोस्