अल्जेरियाका नवनिर्वाचित राष्ट्रपतिद्वारा वार्ताको आह्वान

तस्बिर:एजेन्सी

अल्जेरियाका नवनिर्वाचित राष्ट्रपति अब्देलमाजीद ताबूनले वार्तामा आउन सवैलाई आह्वान गरेका छन्। असन्तुष्ट र आन्दोलनरत सबै पक्षलाई उनले वार्तामार्फत् नै निकास निकाल्न आह्वान गरेको समाचारमा जनाइएको छ। उनले वार्तामार्फत् आन्दोलनकारीको जायज माग सम्बोधन गर्न आफु सधैँ तयार रहेको पनि शुक्रबार स्पष्ट पारे।

नयाँ राष्ट्रपति चयनका लागि अल्जेरियामा बिहिबार भएको निर्वाचनबाट पूर्वप्रधानमन्त्रीसमेत रहेका ताबून राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो। उनलाई निर्वाचन आयोगले शुक्रबार देशको आठौँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ। राष्ट्रपति निर्वाचित भएपछि पत्रकारसँगको कुराकानीका क्रममा उनले असन्तुष्ट र आन्दोलनरत सवै पक्षसँग वार्ता गर्ने आफ्नो पहिलो कार्यभार भएको उल्लेख गरे।

उनले देशको राजनीतिमा तात्विक परिवर्तन गराउने र पुरानो प्रणालीलाई नयाँरुपमा ल्याउने आफ्नो मुख्य उद्देश्य रहेको बताए। “आफ्नो अर्को प्राथमिकता भनेको नयाँ संविधान बनाउनु पनि हो,” उहाँले पत्रकारसँग भन्नुभयो, “त्यसका लागि मैले धेरै फराकिलो दायरामा छलफल गर्नेछु।” अल्जेरियालाई नयाँ तरिकाले अगाडि बढाउनका लागि सामाजिक, आर्थिक, बौद्धिक र राजनीतिक क्षेत्रका अगुवा र नागरिक अधिकारकर्मीसँग छलफल गरेर संविधानको मस्यौदा बनाउने उनको भनाइ छ।

उनको निर्वाचनसम्वन्धी कानुनमा पनि केही संशोधन गर्ने आश्वासन दिएका छन्। निर्वाचन कानुन ठिक नभएको भन्दै आन्दोलनकारीले प्रदर्शन गरिहेका बेला उहाँले सो कानुन संशोधन हुने आश्वासन दिएका छन्। निर्वाचन कानुनमा सुधार नगरी चुनाव गरिएकाले अल्जेरियामा राजनीतिक स्थिरता नहुने प्रदर्शनकारीले दावी गर्दै आएका छन्। अनेक असन्तुष्टीका कारण अल्जेरियामा झण्डै दश महिनादेखि आन्दोलन हुँदै आएको छ।

आन्दोलनकाबीच राष्ट्रपति चयनका लागि गत बिहीबार निर्वाचन भएको छ। निर्वाचनमा प्रतिश्पर्धा गरेकामध्ये अत्यधिक धेरै मतान्तरले विजयी भएका तेब्बौन झण्डै दुई दशकदेखि राष्ट्रपतिका रुपमा शासन गएका अब्देलाजिज बोटेफ्लिकाको उत्तराधिकारी बनेका छन्। अफ्रिकी मुलुक अल्जेरियाका तत्कालिन राष्ट्रपति बोटेफ्लीकाले गत अप्रिल मै आन्दोलनकारीको चर्को दबावपछि राजीनामाको घोषणा गरेका थिए। उनी आफै फेरि उम्मेदवार बन्ने बताएपछि आन्दोलनकारीले उहाँलाई राजीनामा दिन र उम्मेदवार नबन्न माग गर्दै आन्दोलन गरेका थिए।

वृद्ध र बिरामी हुनुका साथै लामो समयदेखि शासन गरेकाले ८२ वर्षीय वृद्ध र बिरामी राष्ट्रपति अब्देलाजिजलाई पाँचौँ कार्यकालमा पनि जिम्मेवारीमा नआउन उनीहरूले माग गरेका थिए। त्यही दबावअनुसार उहाँले केही समयपछि राजिनामा दिए। त्यसपछि पनि आन्दोलन जारी रहेको थियो। आन्दोलनकै कारण गत जुलाई ४ का लागि तोकिएको निर्वाचन सारेर गत बिहीबार डिसेम्बर १२ का दिन गरिएको थियो। त्यतिबेला निर्वाचन अहिलेलाई सारेर अब्देलकादेर बेनसालाहलाई अन्तरिम राष्ट्रपति बनाइएको थियो।

अन्तरिम राष्ट्रपतिले गराउन लागेको निर्वाचन पनि निष्पक्ष र स्वतन्त्र हुन नसक्ने भन्दै अन्दोलनकारीले प्रदर्शनलाई जारी राखेका थिए। निर्वाचनको दिन बिहीबार पनि उनीहरूले अल्जियर्समा प्रदर्शन गरेका थिए। दसौँँ हजार आन्दोलनकारीले विरोध प्रदर्शनका क्रममा कतिपय मतदान केन्द्रसमेतमा आक्रमण गरेको र अवरोधको प्रयास गरेका थिए।

आन्दोलन र विरोधकाबीच भएको निर्वाचनबाट ७४ वर्षीय ताबूनले ५८.१५ प्रतिशत मत प्राप्त गरी राष्ट्रपति चयन भएका हुन्। उनीसँगै प्रतिश्पर्धामा उत्रिएका मध्ये अब्डेलकाडेर बेन्ग्रीनाले १७.३८ प्रतिशत मत प्राप्त गरेर दोस्रो हुनुभएको निर्वाचन आयोगले जनाएको छ।

त्यसैगरी तेस्रो हुनुभएका अली बेन्फ्लीसले १०.५५ प्रतिशत, चौथो भएका अज्जेड्डीन मिहौबीले ७.२६ प्रतिशत र पाँचौँ भएका अब्डेलाजिज बेलैडले ६.६६ प्रतिशत मात्रै मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: : 2019-12-14 18:12:51

प्रतिकृया दिनुहोस्