प्रेरणाको सफलतापछि बुवाले भने– छोरीले हामीलाई टेनिसतर्फ डोर्‍याइन् (भिडियो)

तस्बिरः बिएल नेपाली सेवा

नेपाललाई लन टेनिसमा ऐतिहासिक तीन कास्य जिताउन सफल भएकी प्रेरणा कोइरालाले आफूले जितेको पदक सम्पूर्ण प्रशिक्षक र परिवारलाई समर्पण गर्न चाहेको बताएकी छिन्। 

टेनिसमा नेपालले पहिलो पल्ट साग गेम्समा पदक जितेको हो। प्रेरणाले एकल, महिला डबल्स तथा महिला टिम इभेन्ट्समा गरी तीनवटा पदक जित्न सफल भइन्।

‘म यो सफलता मेरो प्रशिक्षक र परिवारप्रति समर्पण गर्न चाहन्छु,’ बिएल मिडियालाई विशेष अन्तर्वार्ता दिने क्रममा प्रेरणाले भनिन्। उनले भारतीय प्रतिद्धन्द्धी बलियो भएपनि आफूले ‘एक्स्पोजर’ पाएको खण्डमा उनीहरूलाई जित्न सक्ने बताइन्।

उनकी आमा रुक्मणी कोइरालाले छोरीको सफलतामा आफू निकै हर्षित भएको बताइन्। यस्तै, बुवा पुरुषोत्तम कोइरालाले छोरीको खेलप्रतिको उत्साहले आफूहरूलाई पनि यो खेलतर्फ डोर्याएको बताए। ‘मेरो न हजुरबुवा, न बुवा न मलाई नै यो खेलको विषयमा त्यति ज्ञान थियो। तर, छोरीले टेनिस खेल्न थालेपछि यता आकर्षित भयौं। लामो मिहिनतपछि उनले पदक जितेकी हुन्,’ पुरुषोत्तमले भने।

यस्तै, भाई पार्थ कोइरालाले पनि दिदीको पदकले आफूलाई उत्साही बनाएको बताए।

प्रेरणाकी दिदी प्रियंका हाल अमेरिकामा छिन् र उनले उच्च शिक्षा हासिल गरेकी छिन्।

प्रेरणा र उनको परिवारसँग लिएको अन्तर्वार्ताः 

प्रकाशित मिति: : 2019-12-07 15:13:30

प्रतिकृया दिनुहोस्