बाबर हायातले विस्फोटक ब्याटिङ, चितवनद्वारा पोखरा ६ विकेटले पराजित

बिएल संवाददाता

पोखरा, पुस १

पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टी-२० (पिपिएल) मा चितवन राइनोजले डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनलाई हराउँदै विजयी सुरूवात गरेको छ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै पोखराले दिएको १०८ रनको सामान्य लक्ष्य चितवनले मात्र १४.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो।

चितवनको जितमा बाबर हायातले उत्कृष्ट अर्धसतकीय इनिङ्स खेले। हङकङ क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका हायातले अविजित ६६ रन बनाउने क्रममा ४२ बलमा ४ छक्का र ६ चौका प्रहार गरेका थिए।

यस्तै सन्नी पटेलले अविजित १८ रन बनाउँदै बाबरसँग चौथो विकेटको लागि ५० रनको साझेदारी गर्दै टिमलाई जित दिलाएका थिए।

 सुरुवाती ४ विकेट सस्तैमा गुमाएको चितवन एक समय ५८/४ को अवस्थामा रहेको थियो।

यसअघि रोहन मुस्तफा ११ रन, अनिल साह शून्य , कप्तान पारस खड्का ४ रन तथा आरिफ शेख १ रनमा आउट भएका थिए।

पोखराका लागि राशिद खान र सर्वजित लड्डाले २/२ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा पल्टनले निर्धारसत २० ओभरमा सबै विकेट गुमाएर १०७ रन बनाएको थियो।

कमजोर सुरुवात गरेको पोखराका ओपनर कुशल भुर्तेल ५ तथा आसिफ शेख १० रन बनाएर आउट भए। अघिल्लो खेलमा अर्धशतक बनाएका कुशललाई सन्नी पटेलले एलबिडब्लु आउट गरे भने आसिफलाई बिक्रम सोबले क्याच आउट गराए।

१० रन बनाएर रभी इन्दर सिंह पनि पेभेलियन फर्किंदा पोखरा झनै दबाबमा पर्‍यो। उनलाई पारस खड्काले बोल्ड गरे।

लगातार विकेट गुमे पनि कप्तान शरद भेसावकरले एक किनार सम्हालेर धैर्यतापूर्वक ब्याटिङ गर्दै टोलीको इनिङ्स उकासे। बिनोद भण्डारी ७ रन, कुशल मल्ल १३ रन तथा रोहित पौडेल खाता नखोली आउट हुँदा पोखरा समस्यामा पर्‍यो।

४५ रन बनाएर कप्तान शरद पनि १८ औं ओभरमा आउट भए। शरदलाई रोहन मुस्तफाले आफ्नै बलमा आफैंले क्याच आउट गराए। शरदले ३९ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। राशिद खानले १ छक्का मदतले १० रन बनाए।

चितवनका लागि रोहन मुस्तफा, भुवन कार्की र सन्नी पटेलले समान २/२ विकेट हात पारे। यस्तै बिक्रम सोब, करण केसी र पारस खड्काले १/१ विकेट लिए।

यो जितसँगै पारस खड्काको कप्तानीमा रहेको चितवन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा काठमाडौँ गोल्डेन वारियर्सलाई ९ विकेटले पराजित गरेको पोखराले भने २ खेलबाट २ अंक जोड्दै तेस्रो स्थानमा झरेको छ।

प्रकाशित मिति: : 2019-12-18 10:47:31

प्रतिकृया दिनुहोस्