दर्शन पाथीभरा माताको

बिदा मनाउन कतै घुम्न जाने तयारी गर्दै हुनुहुन्छ भने तपाईंको गन्तव्य पूर्वी नेपालको ताप्लेजुङ हुनसक्छ। 

जसमा पनि पाथीभरा उपयुक्त गन्तव्य हुनसक्छ। यो सुदूरपूर्वी जिल्ला ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण छ।

यो जिल्लाको सबैभन्दा प्रसिद्ध कञ्चनजंघा र धार्मिक आस्थाकी धरोहर पाथीभरा देवी साक्षत शक्तिपीठ हुन्। वर्षायाम सकिएपछि आन्तरिक र बाह्य पर्यटकको घुँइचो लाग्ने पाथीभरा मन्दिर राम्रो गन्तव्य हुन सक्छ।

छिमेकी मुलुक चीन र भारतसँग सिमाना जोडिएको यो  मन्दिर समुन्द्र सतहबाट ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित छ। आफ्नो मनोकांक्षा हुने अभिप्रायले पाथीभरा मन्दिर  पुजा गर्न काठमाडाैं, विराटनगर, पोखरा, भारतको आशाम, दार्जीलिङ र तेस्रो देशका पर्यटकहरू यहाँ आउँछन्। पदयात्रा र प्रकृतिक सौन्दर्यमा रमाउन चाहनेहरूका लागि पनि सुरक्षित र आरामदायी गन्तव्य हो पाथीभरा।

प्राकृतिक सौन्दर्यता र विशेषता

यो क्षेत्रको पदयात्रामा  प्राकृतिक सौन्दर्य दुलर्भ जीवजन्तु तथा वनस्पतीको बेजोड संगमस्थल पाइन्छ। पाथीभरा मन्दिर धेरै उचाइमा रहेकाले यहाँबाट विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा हिमश्रृङ्खला, कुम्भकर्ण, मकालु, काङ्वाचेन, लोत्से हिमालको दृश्यावलोकन गर्न सकिन्छ। यसबाहेक राष्ट्रिय पंक्षी डाँफे, नेपालमा मात्र पाइने काँडे भ्याकुर लगायत दुर्इ सयभन्दा बढी प्रजातिका चरा, १ सय ५२ प्रजातिका फूल, २८ प्रजातिका लालीगुराँस, दुर्लभ रेडपाण्डा, चितुवा, हिमाली कालो भालुलगायत तीन दर्जन भन्दा बढी जंङ्गली जनावर पाइने अध्यक्ष मादेन बताउँछन्। 

यो क्षेत्रमा पाँचऔंले, कुड्की, जटामसी, चिराइतोजस्ता ५० भन्दा बढी प्रजातिका बहुमूल्य जडिबुटी समेत पाइन्छ। अस्ताउँदो घामको दृश्यावलोकन, जैविक विविधता अनुसन्धाताहरूका लागि प्राकृतिक संग्रालयका रुपमा यो क्षेत्र मानिन्छ।

धार्मिक विशेषता र किम्बदन्ती

पाथीभरा देवीलाई साक्षत देवीका रुपमा मानिन्छ। यसको अवस्थिति अन्न भरेको पाथीजस्तै आकृतिको भएकाले नै पाथीभरा भनिएको कथन रहेको छ।  

देवीको उत्पति सम्बन्धी किम्बदन्ती अनुसार भेडी गोठालाले गोठ पाथीभरामा सारेका बेला उनको सबै भेडाहरु हराएपछि उनी चिन्तित भएका थिए। राति देवीले आत्मबोध गराउँदै भेडा बलीसहित पूजा अर्चना गर्न निर्देशन दिएपछि उनले सोही अनुसार बलीसहित पूजा गरेपछि हराएका सबै भेडा फेलापरेका थिए। त्यसपछि देवीलाई साक्षत देवीको रुपमा पूजा अर्चना गर्ने प्रचलन रहिआएको धार्मिक मान्यता छ। पाथीभरा देवीलाई लिम्बू समुदायले ‘मुक्कुमलुङ युमा’ नामले पुकार्छन् ।

परम्परागत मान्यता अनुसार ‘आफ्नो मनोकांक्षा पूरा गराउने’ भनेर परिचित यहाँ नौरथा सुरू भएपछि दर्शनार्थीहरूको घुइँचो लाग्छ। 

 

पाथीभरामा भेडा, बोका, पाठीको बलि दिन देशका विभिन्न भेगका साथै भारत र भूटानबाट समेत दर्शनार्थी आउँछन् । किंवदन्ती अनुसार देवीको इच्छा अनुसार परापूर्वकालदेखि नै मन्दिरमा बलि दिन थालिएको हो । मनोकांक्षा पूरा भएपछि बत्ती बाल्न आउने भक्तजन पनि उत्तिकै हुन्छन् ।

यात्रामा अपनाउनु पर्ने सुरक्षा 

पाथीभरा ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेकाले यहाँ तापमान प्राय शून्य डिग्रीमा हुन्छ। टाउको दुख्ने तथा केही असहज हुने भए पनि खासै चिन्ता लिनु पर्दैन किनकि विभिन्न हिमाली फूलहरूको बासनाका कारणले हुन सक्छ। दर्शनार्थीहरूले लेक लाग्नबाट जोगिन घरेलु उपचारका सामग्री तातोपानी, भुटेका मकैं, अदुवा, लसुन गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडा बोक्नुपर्छ।

यात्रामा आवश्यक सामग्री

क्यामरा, मोबाइल, औषधि, लौरो। 

कसरी पुग्ने

 

काठमाडौंदेखि ताप्लेजुङको सदरमुकाम फुङलिङसम्म दैनिक रात्रि बस चल्छ । करीब २० घण्टाको यात्रापछि फुङलिङ पुगिन्छ । हवाई यात्राबाट जाने हो भने काठमाडौंबाट ताप्लेजुङको सुकेटार विमानस्थलमा हप्ताको दुई दिन सोमबार र शुक्रबार नेपाल वायुसेवाको उडान हुन्छ । फुङलिङ र सुकेटारबाट जीप मार्फत करीब दुई घण्टामा तल्लो फेदी र त्यहाँबाट सीधै उकालो करीब पाँच घण्टा हिंडेपछि पाथीभरा मन्दिर आउँछ ।

हवाई मार्ग

काठमाडाैंदेखि ताप्लेजुङ।

विराटनगरदेखि ताप्लेजुङ सुकेटार।

सडक मार्ग (२ सय ३७ किमि) 

विर्तामोड, इलाम, पाँचथर हुँदै ताप्लेजुङ,

बस तथा जिप सेवा (९ सय रुपैयाँ)

पैदल मार्ग

धरान, धनकुटा, बसन्तपुर, गुफापोखरी हुदै ताप्लेजुङ दुई दिन।     

फुङलिङ बजारदेखि पाथीभरा 

तपाईं ताप्लेजुङ सदरमुकाम फुङलिङ पुगेपछि तपाईंको पैदल यात्रा सुरु हुन्छ, करिब डेढ घण्टा उकालो हिडेपछि सुकेटार विमानस्थल पुगिन्छ। हवाई यात्रीहरूको सुकेटारबाट पैदल यात्रा सुरू हुन्छ। 

विस्तारै हिँड्दा सुकेटारबाट देउराली, भालुगौंडे, फेदी हुँदै पाँच घण्टामा पाथीभरा धाममा पुग्न सकिन्छ। 

होटल, लज

मन्दिर परिसरमा तीर्थालुलाई बासको सुविधा छैन । मन्दिरदेखि साढे एक घण्टाको दूरीमा रहेको फेदी र देउरालीमा भने खाने र बास बस्ने होटल, लज उपलब्ध छन् ।

फुङलिङ, सुकेटार, देउराली, फेदी लगायतका स्थानमा खाना छाकको ७० देखि १ सय ५० सम्म र लजको लागि एक सयसम्म तिर्नुपर्छ। खाना र पेय पदार्थ तपाई रोजाई अनुसारको पाउनु हुनेछ। साथै, याक, चौंरी, गाई, भैंसी र भेडाको दही, ध्यु लगायतको परिकार पाउन सकिनेन्छ।

प्रकाशित मिति: : 2019-12-20 22:10:54

प्रतिकृया दिनुहोस्