पुलिसलाई हराउँदै एपीएफ फाइनलमा, सावित्राले गरिन् ह्याट्रिक

एपीएफ क्लब प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

भद्रकालीस्थित आर्मीको मुख्यालयमा भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ५–२ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो।  निर्धारित ९० मिनेट दुई–दुई गोलको बराबरी भएको खेलको छिनोफानो अतिरिक्त समयमा भएको थियो।

एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक गरिन्। यस्तै रेखा पौडेल र अनिता बस्नेतले एक एक गोल गरे। पुलिसका लागि निशा सुनार र घिमकुमारी गुरुङले एक एक गोल गरे।

खेलको तेस्रो मिनेटमा नै सावित्राको गोलमा एपीएफले अग्रता बनायो।  ४३ औं मिनेटमा पुलिसकी निशा सुनुवारले गोल गर्दै खेल १–१ को बरारबरमिा पुर्‍याइन्। तर पहिलो हाफको इन्ज्युरी समयमा अनिता बस्नेतले गोल गर्दै एपीएफले फेरि २–१ को अग्रता बनायो।

पहिलो हाफ २–१ को अवस्थामा रहेका बेला ८७औं मिनेटमा पुलिसकी कप्तान घिमकुमारी गुरुङले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो।

निर्धारित ९० मिनेटमा खेलका नजिता नआएपछि थप समयमा धकेलिएको थियो। जसमा १०७ औं मिनेटमा सावित्राले गोल गर्दै एपीएफलाई ३–२ ले अगाडि राखिन्। दुई मिनेटपछि रेखाले गोल गर्दै एपीएफलाई खेलमा ४–२ को अग्रता दिलाइन्। ११५ औं मिनेटमा सावित्राले ह्याट्रिक पूरा गर्दा एपीएफले ५–२ को जित निकाल्यो।

दोस्रो सेमिफाइनलमा आज दिउँसो दुई बजे आर्मी र भुटान खेल्नेछन्।

प्रकाशित मिति: : 2019-12-24 00:12:47

प्रतिकृया दिनुहोस्